
- चिरफार डटकम, विराटनगर २११ पटक हेरिएको
शुक्रबार, आषाढ ०६, २०८२ समय : १२:५१:१५ , ४ घन्टा अगाडि
कोशी प्रदेशमा शुक्रबारदेखि ट्राफिक सप्ताह २०८२ सुरु भएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले ट्राफिक सप्ताहको आयोजना गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विराटनगरमा ट्राफिक सप्ताह २०८२ को उद्घाटन गरेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा ट्राफिक सप्ताहको उद्घाटन गर्नुभन्दा अघि प्रभातफेरी कार्यक्रम आयोजना गरेका थिए । विराटनगरको महेन्द्र चौकबाट निस्केको र्याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमा पछि कार्यक्रमको उद्घाटन स्थल सिटी प्यालेस होटेल एण्ड रिसोर्ट पुगेको थियो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमडिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका निमित्त कार्यालय प्रमुख डिएसपी सन्तोष श्रेष्ठ सहित विभिन्न संघसंस्थाका पदाधिकारी, स्कुलका विद्यार्थी र्यालीमा सहभागी थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका निमित्त कार्यालय प्रमुख सन्तोष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को ११ महिना (साउनदेखि जेठसम्म) मा दुर्घटनामा परेर ३ सय ८१ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुर्घटनामा परेर सर्वसाधारणले अकालमा ज्यान गुमाउनुदेखि अङ्गभङ्ग भएर जीवनयापन गरिरहेकोले जिम्मेवारीपूर्वक सवारी साधन चलाउन चालकलाई सुझाव दिए ।
ट्राफिक सप्ताहको उद्घाटन समारोहमा लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष श्यामलाल पौडेल (भवेष), महिला पतञ्जली योग समिति मोरङका अध्यक्ष सुची चौधरी, उपाध्यष सारदा थापा, अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झा सहित विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीले ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गरिरहेका छन् । कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई सहयोग पुर्याउने सहयोगी हातहरूलाई सम्मान गरेका थिए ।