विराटनगरमा रोटरियन सविता अग्रवालको नाममा चिल्डेन्स न्यूरोलोजिकल रिह्याबिलिटेसन सेन्टरको स्थापना

  • ब्रह्मदेव यादव, विराटनगर ७२३  पटक हेरिएको

सोमबार, आषाढ ०९, २०८२ समय : १८:३०:१५ , १ हप्ता अगाडि

मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले स्व. दिदी रोटरियन सविता अग्रवालको नाममा मस्तिक्स पक्षघात बालबालिकाका लागि अस्पताल निर्माण गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ४ स्थित रिङ रोड  सडक खण्डमा निर्माण गरिएको अस्पतालको नाम रोटरियन सविता अग्रवाल चिल्डेन्स न्यूरोलोजिकल रिह्याबिलिटेसन सेन्टर राखिएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सोमबार भव्य समारोहका बिच अस्पतालको उद्घाटन गरेका छन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाका दिदी रोटरियन सविता अग्रवालको ८ वर्ष अगाडी भारतमा सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

रोटरियन सविता अग्रवालले मर्नु अघि अर्का रोटरियन रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पूर्व अध्यक्ष अर्चना शर्मासँग मस्तिक्स पक्षघात बालबालिकाका लागि एउटा अस्पताल निर्माण गर्ने इच्छा व्यक्त गरेका थिए । रोटरियन सविता अग्रवालको मृत्यु पछि रोटरियन अर्चना शर्माले सविता अग्रवालका दाजु रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया समक्ष अस्पताल स्थापनाको प्रस्ताव राखेका थिए ।

त्यसलाई सहज रूपमा स्वीकार गरेर रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाले अस्पताल निर्माणको लागि दिदीको नाममा विराटनगर–४ स्थित रिङ रोड सडक खण्डमा ४ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । त्यही जग्गामा अस्पताल निर्माणका लागि रंगेलीका मेयर दिलीप बगडिया र रोटरियन स्व. सविता अग्रवालका श्रीमान् अशोक अग्रवाल सञ्चालक रहेको आनन्द ईट्टा भट्टा उद्योगले निःशुल्क रूपमा ईट्टा उपलब्ध गराएका थिए ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष मञ्जु अग्रवाल सहित उनको टिमले रोटरियन सविता अग्रवालको नाममा अस्पताल निर्माणको काम पुरा गरेका छन् । अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मेवारी रोटरी क्लब अफ विराटनगर डाउटाउनले व्यहोर्ने छ । डा. ममता बर्माले मस्तिक्स पक्षघात बालबालिकाका लागि फिजियोथेरापीदेखि सम्पूर्ण सेवा अस्पतालबाट प्रवाह हुने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित