गुण्डाको सहर विराटनगर ! 

  • ब्रह्मदेव यादव, विराटनगर ६६७  पटक हेरिएको

बिहिबार, आषाढ १२, २०८२ समय : १४:०७:५५ , १ महिना अगाडि

पछिल्लो समय विराटनगरमा गुण्डागर्दी गर्नेको जमात ठुलो छ । कोशी प्रदेशको राजधानी र त्यसमा पनि प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिका क्षेत्रमा गुण्डागर्दी गर्नेको संख्या बढेपछि उद्योगी व्यवसायीदेखि सर्वसाधारण चिन्तित छ । प्रमुख राजनीतिक दलमा यी गुण्डाहरु सक्रिय छन् ।

गुण्डाहरुले धाकधम्की देखाएर असुली गरिरहेको रकम दलका नेता समक्ष पुगिरहेकोले नेताहरूले पार्टीका युवा नेता भन्दै गुण्डाहरुलाई संरक्षण गरिरहेका छन् । जसका कारण जस्तो सुकै प्रवृत्तिको आपराधिक घटनामा संलग्न गुण्डा समक्ष प्रहरी प्रशासन पुग्न सकिरहेको छैन ।

पछिल्लो समय विराटनगरमा मिटर ब्याजको रकम असुली गर्नेदेखि विभिन्न प्रकारको झगडा मिलाइ दिने नाममा गुण्डाहरुले रकम असुली गरिरहेका छन् । र उनीहरुको रकम असुली गर्ने दिनचर्या नै बनेको छ ।

सरकारी कार्यालयको टेन्डर सस्तोमा हात पार्न गुण्डाहरु सक्रिय छन् । र सफल पनि भइरहेका छन् । पछिल्लो समय जन्म दिनको अवसरमा केक काटेर अबेर रातीसम्म पार्टी गर्ने कुरा सामान्य भइसकेका छन् । गुण्डाका नाइकेदेखि गुण्डाहरुलाई जन्म दिनको अवसरमा दलका नेताले केक काटेर खुवाइरहेको फोटाले सामाजिक सञ्जालमा खुबै चर्चा बटुली रहेको छ ।

गुण्डा र गुण्डाका नाइकेहरूको विराटनगरमा करोडौँको आलिसान महलदेखि अरबौँको व्यवसायी कारोबार छ । यस विषयमा राज्य मौन हुनुमा रहस्य लुकेको छ ।