
- चिरफार डटकम, विराटनगर ३४८ पटक हेरिएको
शुक्रबार, आषाढ १३, २०८२ समय : १८:४०:१९ , ४ दिन अगाडि
शुक्रबारदेखि अनिश्चित कालकालागि विराटनगरको सुन पसल बन्द भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको बजेट मार्फत सुनको हरेक खरिद बिक्रीमा २ प्रतिशत बिलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि सुन व्यवसायी आन्दोलित बनेको हो ।
सरकारले सुन आयातमा १० प्रतिशत भन्सार शुल्क लिई रहेका छन् । यस अघि पटक पटक सुन पसल बन्द गरेर खुल्ला गर्दै आइरहेका नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङले शुक्रबारदेखि अनिश्चित कालका लागि सुन पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार बिहानैदेखि विराटनगरका सुन पसल बन्द राखेका व्यवसायी साँझपख विराटनगरमा सरकारको गलत कर नीतिका विरुद्ध प्रदर्शन गरेका छन् । व्यवसायीले विराटनगर–९ ठाकुरबाडी रोडस्थित नेपाल सुन–चाँदी व्यवसायी संघको कार्यालयबाट निकालिएको र्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि बुधहाट चौकमा विरोध सभाको आयोजना गरेका थिए ।
विरोध सभामा नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह र शोभा प्याकुरेलले सरकारको गलत कर नीति खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका सल्लाहकार किशन तापडिया, जुगल किशोर राठाी, संघका महासचिव कमलेश अग्रवाल आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।