गलत कर नीतिका विरुद्ध सुन–चाँदी व्यवसायीले निकाले मोटरसाइकल र्‍याली

  • ब्रह्मदेव यादव, विराटनगर ३१८  पटक हेरिएको

आइतबार, आषाढ १५, २०८२ समय : १३:२२:०८ , २ दिन अगाडि

नेपाल सरकारले ल्याएको गलत कर नीतिका विरुद्ध नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङले आइतबार विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गर्दा सुनको हरेक गहनाको बिक्रीमा २ प्रतिशत विलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप गरेको छ ।

सरकारले सुन आयातमा नै १० प्रतिशत भन्सार महसुल कर असुली गरिरहेका छन् । थप गरिएको कर नीति खारेज नभएसम्म व्यवसायीले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् । असार १३ गते शुक्रबारदेखि अनिश्चित कालका लागि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका सुन–चाँदी व्यवसायी निरन्तर आन्दोलनमा होमिएका छन् ।

शुक्रबार पैदल र्‍याली निकालेर विराटनगरमा शक्ति प्रदर्शन गरेका सुन–चाँदी व्यवसायी आइतबार मोटरसाइकल र्‍याली निकालेर अर्को शक्ति प्रदर्शन गर्दै सरकारमाथि थप दबाब सृजना गरेका छन् । नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरले आइतबार विराटनगरको ट्राफिक चौकस्थित सन्सारी माईस्थान मन्दिरबाट निकालेको मोटरसाइकल र्‍याली नगर क्षेत्रको १० किलोमिटर क्षेत्रको दुरी तय गरेर महेन्द्र चौकमा पुगेको थियो । जहाँ विरोध सभाको आयोजना गरिएको थियो ।

विरोध सभामा १ दर्जनभन्दा बढी सुन–चाँदी व्यवसायीले गलत कर नीति खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् । विरोध सभामा बोल्दै नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले बढी कर उठाउने नाममा सरकार गलत कर नीति लागु गरेर कर आतङ्क मच्चाइरहेको बताए ।

सरकारले बजेट मार्फत लागु गरेको गलत कर नीति नसच्याउन्जेलसम्म आन्दोलन निरन्तर चल्ने अध्यक्ष साहले बताए । नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष मनोज अग्रवाल, प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगरका संस्थापक सदस्य जुगल किशोर राठी र राजनीतिक एवं समाजसेवी पवनकुमार सुरानाले जनतालाई थप भार पर्ने गरी सरकारले ल्याएको गलत कर नीति खारेज नभएसम्म सुन–चाँदी व्यवसायीको आन्दोलन जारी रहने बताए ।

नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर, मोरङ अन्तर्गत १ सय २५ भन्दा बढी पसल सदस्य रहेका छन् । १ सय भन्दा पसल सदस्यता प्राप्त गर्ने क्रममा रहेका छन् । संघले आइतबार विराटनगरमा निकालेको मोटरसाइकल र्‍यालीमा २ सय भन्दा बढी व्यवसायी सहभागी थिए ।