“अरनिको कलेजमा जसले अगाडि भर्ना लिन्छ उसले पढ्न पाउँछ”

  • चिरफार डटकम, विराटनगर ४५०  पटक हेरिएको

बिहिबार, आषाढ १९, २०८२ समय : १५:०२:३६ , ९ घन्टा अगाडि

विज्ञान संकाय तर्फ कोशी प्रदेशको पहिलो र नेपालको उत्कृष्ट विराटनगरको अरनिको कलेजमा प्रवेश परीक्षा उत्तीर्ण गरेका मध्ये जुन विद्यार्थी पहिला भर्ना लिन्छ, उसले पढ्न पाउने नियम लागु गरेको छ । विराटनगरको अरनिको कलेजले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ १ हजार विद्यार्थी भर्ना लिने तयारी पुरा गरेको छ ।

नयाँ भर्नाका लागि उत्कृष्ट विद्यार्थीको छनौट गर्न अरनिको कलेजले बिहीबार लिएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । कलेजले बिहीबार नै प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर भर्ना लिने प्रक्रिया सुरु गरेको छ । प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी मध्ये जो अगाडि भर्ना लिन्छ, उसले पढ्न पाउने नियम लागु गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी गराए ।

चिरफार डटकम सँग कुरा गर्दै प्रिन्सिपल कार्कीले भने: कक्षा ११ मा विज्ञान संकाय तर्फ बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्ययनका लागि १ हजार विद्यार्थी भर्ना लिन्छौ । प्रवेश परीक्षाको नतिजाको आधारमा जुन विद्यार्थी अगाडि आउँछ उसले पढ्न पाउँछ ।

कलेज प्रशासनले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ १ हजार विद्यार्थी मात्रै भर्ना लिएर अध्यापन गराउने तयारी गरेकोले त्यो भन्दा बढी विद्यार्थी भर्ना नलिने प्रिन्सिपल कार्कीले बताए ।

कक्षा ११ तर्फ विज्ञान विषय अध्ययनका लागि कलेजले १ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको छ । यो सरकारले निर्धारण गरेको शुल्क हो । तर प्रवेश परीक्षाको नतिजा र एसईई परीक्षाको जिपिए अंक जोडेर विद्यार्थीलाई १० हजार रुपैयाँदेखि १ लाख १५ हजार रुपैयाँसम्म छात्रवृत्ति दिने कलेजका कोअडिनेटर विकाश खनालले जानकारी गराए ।

बिहीबार विराटनगर–१० स्थित अरनिको कलेजमा विज्ञान संकाय तर्फ कक्षा ११ अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको मेला नै लागेको थियो । कलेज प्रशासनले कलेज ब्लक र स्कुल ब्लकमा प्रवेश परीक्षा लिएका थिए । कलेजमा सुनसरी, मोरङ, सप्तरी, सिराहाका ८५ देखि ९० प्रतिशत र बाँकी १० देखि १५ प्रतिशत अन्य जिल्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्