सुन–चाँदी व्यवसायी काठमाडौँमा खबरदारी सभा गर्दै

  • चिरफार डटकम, विराटनगर २७६  पटक हेरिएको

मंगलबार, आषाढ २४, २०८२ समय : १६:२९:०२ , ७ घन्टा अगाडि

नेपाल सुन–चाँदी व्यवसायी महासंघले असार २६ र २७ गते काठमाडौँमा संघीय सरकारका विरुद्ध खबरदारी सभाको आयोजना गर्ने तयारी गरेको छ । जसका लागि महासंघले देशभरिका सुन–चाँदी व्यवसायीलाई काठमाडौँ बोलाएका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघको प्रदेश समिति, जिल्ला समिति, जिल्ला संघ र स्थानीयपालिका संघका पदाधिकारी र सदस्यलाई पत्राचार गरेर काठमाडौँ बोलाएका छन् । नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङबाट ४० जना व्यवसायीको टोली असार २५ गते बुधबार काठमाडौँ जाने तयारी गरेका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका महासचिव कमलेश अग्रवाल (शुभम् ज्वेलर्स) ले महासंघका केन्द्रीय सदस्य बिमल बेगवानीको नेतृत्वमा विराटनगरका सुन–चाँदी व्यवसायी काठमाडौँ जाने तयारीमा रहेको बताए ।

नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको हरेक गहनाको खरिद बिक्रीमा २ प्रतिशत बिलासी कर र पत्थर, हिरा जवाहरात जडान गरिएको सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेका छन् ।

जुन करको भार थेक्न नसक्ने निष्कर्ष निकाल्दै देशभरिका सुन–चाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलित बनेका छन् । नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङमा १ सय २५ भन्दा बढी सुन–चाँदी पसल सदस्य रहेका छन् । ३ हप्तादेखि १ सय २५ वटै पसल पूर्ण रुपमा बन्द रहेका छन् । र व्यवसायी सडक आन्दोलनमा सक्रिय रहेका छन् ।