
- ब्रह्मदेव यादव, विराटनगर २७७ पटक हेरिएको
शुक्रबार, आषाढ २७, २०८२ समय : १६:४८:०१ , २३ घन्टा अगाडि
दुई हप्तादेखि बन्द रहेको विराटनगरको सुन–चाँदी पसल शुक्रबारदेखि खुलेका छन् । सुन–चाँदी व्यवसायीको माँगलाई सम्बोधन गर्न सङ्घीय सरकारले साझा कार्यदल गठन गरेपछि बन्द रहेको सुन–चाँदी पसल खुलेको नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साहले जानकारी गराए ।
देशभरीका सुन–चाँदी व्यवसायी असार २६ गते बिहीबार काठमाडौँमा सङ्घीय सरकारका विरुद्ध खबरदारी सभा गरिरहेका बेला सरकारले सुन–चाँदी व्यवसायीको माँगलाई सम्बोधन गर्न साझा कार्यदल गठन गरेका हुन् । सङ्घीय सरकार र नेपाल सुन–चाँदी व्यवसायी महासंघका प्रतिनिधिलाई समेटेर साझा कार्यदल गठन गरिएका हुन् ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको हरेक गहनाको खरिद–बिक्रीमा २ प्रतिशत बिलासी कर र हिरा जवाहरात एवं महँगा पत्थर जडान गरिएको सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेका थिए ।सरकारले सुन आयातमा १० प्रतिशत भन्सार महसुल कर लिई रहेका छन् ।
बजेट मार्फत थप गरिएको करले व्यवसाय नै चौपट हुने निष्कर्ष निकाल्दै व्यवसायी थप गरिएको कर खारेजको माँग गर्दै पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका थिए । देशभरीका व्यवसायी सरकारका विरुद्ध २ दिने खबरदारी सभा गर्न काठमाडौँ पुगेका थिए ।
असार २६ गते बिहीबार व्यवसायीले काठमाडौँमा पहिलो दिनको खबरदारी सभा गरिरहेको बेला सरकारले कार्यदल गठन गरेका छन् । सरकार र व्यवसायीलाई समेटिएर गठन गरिएको साझा कार्यदलले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सरकारले सुनको गहनामा वृद्धि गरिएको कर परिमार्जन गर्न मस्यौदा तयार पार्ने यसरी तयार पारिएको मस्यौदालाई मन्त्री परिषद्को बैठकबाट सम्बोधन गर्ने ६ बुन्दे सहमतीको आधारमा व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष एवं नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह, नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेशका प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका संस्थापक जुगल किशोर राठी, किशन तापडिया, विजय राठी अग्र मोर्चामा रहेर आन्दोलन गरिरहेका थिए ।