
- चिरफार डटकम, विराटनगर २३७ पटक हेरिएको
मंगलबार, आषाढ ३१, २०८२ समय : १३:३२:५५ , ९ घन्टा अगाडि
मारवाडी युवा मञ्च विराटनगरले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेका छन् । मोहित लालवानीले मारवाडी युवा मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हाले लगत्तै सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका थिए ।
समाज परिवर्तनका लागि मञ्चले आयोजना गरेको महत्वपूर्ण कार्यले सामाजिक सञ्जालमा खुबै चर्चा बटुली रहेका छन् । सप्ताहव्यापी कार्यक्रम भइरहेको बेला मञ्चका अध्यक्ष मोहित लालवानी सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूको पदस्थापन भएको थियो ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सदस्य पवन मित्तल सहित मारवाडी समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूले मञ्चका अध्यक्ष लालवानीको टिमलाई समाज परिवर्तनको पक्षमा काम गर्न सुझाव दिँदै पदस्थापन गराएका थिए ।
मञ्चले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विराटनगर–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा आश्रित बालबालिकाहरूलाई भोजन तथा खाद्यान्न सामग्री वितरण, मोरङको कटहरी गाउँपालिकाको थलाहा स्थित नेपाली सेनाको शिवदयालगणमा विभिन्न जातका १ सय १ थान वृक्षारोपण, विराटनगरको शिक्षा सदन माध्यमिक विद्यालयलाई ६ थान पङ्खा सहित शैक्षिक सामग्री वितरण र एसईई उत्तीर्ण गरेका ४ जना छात्रालाई नगद १ लाख सहित प्रमाणपत्र वितरण, विराटनगर–३ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन वितरण, विराटनगर–१ स्थित परमार्थ सिंघिया आरती सेवा स्थलमा आरती सेवा कार्यक्रममा सहभागिता, विराटनगर स्थित आमाको माया छात्रावासमा अध्ययनरत विद्यार्थीका लागि योग शिविर आयोजना गरेका थिए ।
मञ्चले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् समापन समारोहमा विराटनगर–१४ स्थित जतुवामा रहेको श्रीकृष्ण गौ सेवा सदनलाई ५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए ।