जनताको सम्पत्तिमा सशस्त्र प्रहरीको रजाइँ

  • ब्रह्मदेव यादव, विराटनगर ३५४  पटक हेरिएको

बुधबार, आषाढ ३२, २०८२ समय : १५:४७:४२ , ८ घन्टा अगाडि

सशस्त्र प्रहरी बल नेपाल रानी गुल्म विराटनगरले रानी नाकाबाट नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाइरहेको लत्ताकपडा र खाद्यान्न सामग्रीको लेखा जोखा पारदर्शी छैन ।

विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय रानी नाकाबाट सशस्त्र प्रहरीले सर्वसाधारणदेखि कारोबारीको सामान नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाउँदा नियन्त्रणमा लिएको र बुझाएको सामानको लेखाजोखा पारदर्शी नरहेको सरोकारवाला निकायको आरोप छ ।

पछिल्लो समय सीमान्त क्षेत्र भारतको जोगबनीबाट किनमेल गरेर नेपाल फर्किरहेका सर्वसाधारण र कारोबारीको लत्ताकपडादेखि खाद्यान्न सामग्री सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मले रानी नाकाको दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर जफत गरिरहेका छन् ।र रानी नाकाको दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको लत्ताकपडा र खाद्यान्न सामग्री सशस्त्र प्रहरीले गाडी र ड्युटीमा तैनाथ सशस्त्र प्रहरीको स्कुटर मार्फत गुल्मसम्म पुर्‍याउँदा आधा सामान बिच बाटैबाट गायब भइरहेको पीडित पक्षको आरोप छ ।

जोगबनीबाट सर्वसाधारणले किनेर ल्याएको सामान सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नियन्त्रणमा लिएर जफत गरेको सामान राज्यको अन्य कुनै पनि सरोकारवाला निकायलाई साक्षी नराखेर मुचुल्का तयार पार्ने काम नभइरहेको कारण नियन्त्रणमा लिएर जफत गरिएको सामान भन्सार कार्यालयमा बुझाउँदा लेखा जोखा फरक देखिएको हो ।

सर्वसाधारणले जोगबनीबाट किनमेल गरेर ल्याएको सामान विराटनगर भन्सार कार्यालयको यात्रु शाखा कक्ष मार्फत राजश्व तिरेर लान्छु भन्दा पनि सशस्त्र प्रहरी बल रानी गुल्मले सर्वसाधारणको सामान यात्रु कक्षसम्म आउन नदी दशगजा क्षेत्रमा टोली राखेर जफत गरिरहेका छन् । जुन काम अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत हो ।

सशस्त्र प्रहरी बल रानी गुल्मका प्रमुख डिएसपी विकास खतिवडाले लत्ताकपडा र खाद्यान्न सामग्रीमा फरक फरक देखिएको लेखाजोखाको बारेमा केही बताउन चाहेनन् ।

सशस्त्र प्रहरी बल रानी गुल्मले रानी नाकाबाट सर्वसाधारणदेखि कारोबारीको नियन्त्रणमा लिएर जफत गरिएको सामान ५० प्रतिशत विराटनगर भन्सार कार्यालयमा बुझाउने र ५० प्रतिशत सामान सशस्त्र प्रहरीको उच्च पद श्रेणिका अधिकृतको घरसम्म पुगिरहेको सशस्त्र प्रहरी बल निकट समाचार सूत्रले जानकारी गराएको छ ।