
- चिरफार डटकम, विराटनगर २०३ पटक हेरिएको
शुक्रबार, साउन ०२, २०८२ समय : १३:२५:४७ , २२ घन्टा अगाडि
विराटनगर महानगरपालिकाको वडा नं. ४ खारजी स्थित ज्योति आधारभूत विद्यालयमा शुक्रबारदेखि दिवा खाना सुरु भएको छ । यस अघि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी खाजा खाइसकेपछि भोक लाग्यो भन्दै खाना खान घर गएपछि पुनः फर्केर विद्यालय आउन छोडेपछि विद्यालय सञ्चालक समितिले विद्यार्थीका लागि खाजाको ठाउँमा खानाको व्यवस्था गरिदिएको हो । विराटनगर महानगरपालिकामा ५६ वटा सरकारी विद्यालय रहेका छन् ।
जसमध्ये दिवा खाजाको ठाउँमा दिवा खाना सुरु गर्ने ज्यो आधारभूत विद्यालय पहिलो विद्यालय बनेको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले शुक्रबार ज्योति आधारभूत विद्यालयलाई दिवा खानाका लागि आवश्यक भाँडाकुँडा सहित खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।
रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष घनश्याम काबरा, रोटरी क्लब अफ विराटनगर मिड टाउनका असिस्टेन्ट गभर्नर प्रिया सारडा, लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर विजय हरि शर्मा, रोटरी क्लब अफ विराटनगर मिड टाउनका पूर्व अध्यक्ष नन्दकिशोर राठी, घनश्याम राठी, रामअवतार अग्रवाल सहित क्लबका पदाधिकारीहरूले ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण चौधरी र प्रिन्सिपल बेधनिधि भट्टराईलाई दिवा खाना तयार गर्नका लागि आवश्यक भाडाकुडा र खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
रोटरी क्लब अफ विराटनगर मिड टाउनले ज्योति आधारभूत विद्यालयमा दिवा खाना तयार गर्नका लागि किचनका लागि नयाँ भवन बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ज्योति आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन हुन्छ । विद्यालयमा सिमांकृत ऋषिदेव समुदायका १ सय २५ विद्यार्थी अध्ययनरत रहेका छन् ।