गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरले १ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन गर्‍यो

  • चिरफार डटकम, विराटनगर २६३  पटक हेरिएको

मंगलबार, साउन ०६, २०८२ समय : १४:१७:४३ , १ हप्ता अगाडि

गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ३५ लाख ११ हजार ४ सय ६५ रुपैयाँ राजश्व संकलन गरेका छन् । कोशी प्रदेशको १ र मधेश प्रदेशको २ गरी १२ जिल्लामा गुणस्तर तथा नाप तौल सम्बन्धी काम गर्ने अख्तियारी प्राप्त कार्यालयले करिब ८ हजार सेवा ग्राहीबाट १ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् ।

कार्यालयले कोशी प्रदेशको झापा, ईलाम, पाँचथर र ताप्लेजुङ बाहेक १० जिल्ला र मधेश प्रदेशको सप्तरी र सिराहा गरी १२ जिल्लामा काम गरिरहेका छन् । कार्यालयले सेवाग्राहीलाई प्रवाह गरिरहेको सेवा ठिक छ कि छैन भन्ने उद्देश्यका साथ करिब ४ सय पटक एकल र संयुक्त अनुगमन गरेको कार्यालय प्रमुख शम्भुकुमार झाले बताए ।

कार्यालय प्रमुख झाका अनुसार सप्तरीको राजविराजमा माछामा काम तौल भएको जनगुनासो आएपछि प्रहरीसँग सहकार्य गरेर सादा पोसाकमा प्रहरी परिचालन गरेर ठगी कार्यमा संलग्न ५ जना कारोबारीलाई जनही १०/१० हजार रुपैयाँका दरले जरिवाना गरिएको जानकारी गराए ।

सप्तरीको राजविराजमा सर्वसाधारणले १ किलो माछा किन्दा कारोबारीले ८ सय ग्राम मात्रै माछा दिएर ठगी गरिरहेका थिए । यसै गरी मोरङको बुढिगंगा गाउँपालिकामा माछामा कम तौल दिएर ठगी गर्ने ५ जनालाई जनही ५/५ हजार रुपैयाँका दरले जरिवाना गरेको बताए । मोरङको बुढीगंगा गाउँपालिका स्थित विराट टिचिङ अस्पताल नजिक माछा कारोबारीले सर्वसाधारणलाई ठगी गरिरहेका थिए ।

ईलाका प्रहरी कार्यालय निमुवा मोरङसँग सहकार्य गरेर कार्यालयले कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गरेका थिए । सोलुखुम्बु जिल्लामा नियम विपरीत मेसिन जडान गरी अनाधिकृत रूपमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको एक पम्पलाई सिल बन्द गरेर कारबाही पक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख झाले बताए ।

डिजिटल काँटा फोडेर सर्वसाधारणलाई कम वजनको सामान बिक्री गरेर ठगी गर्ने कार्यमा सक्रिय कारोबारीलाई गुणस्तर तथा नाप तौल ऐनले व्यवस्था गरे बमोजिम ३ वर्षसम्म कैद वा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाए कायम गराउने गरी कार्यालयले काम गरिरहेको कार्यालय प्रमुख झाले बताए ।