साढे सात हजार खाद्यवस्तु फलफूल तथा तरकारीको विषादी परीक्षण

  • चिरफार डटकम, विराटनगर २२२  पटक हेरिएको

बिहिबार, साउन ०८, २०८२ समय : १५:५२:०६ , १ हप्ता अगाडि

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रानी विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ३ सय भन्दा बढी खाद्यवस्तु, फलफूल तथा तरकारीको विषादी परीक्षण गरेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार खाद्यवस्तुको प्रमाणीकरण गर्ने लक्ष्य राखेकोमा ४ हजार २ सय ९९ खाद्यवस्तुको प्रमाणीकरण गरिएको कार्यालय प्रमुख घनश्याम अधिकारीले जानकारी गराए ।

कार्यालय प्रमुख अधिकारीले ३ हजार १३ ताजा फलफूल तथा तरकारी विषादी अवशेषको परीक्षण गरिएको बताए । ४ हजारको संख्यामा ताजा फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने लक्ष्य राखेकोमा ३ हजार १३ को नमुना परीक्षण संकलन गरी परीक्षण गरिएको अधिकारीले बताए ।

कार्यालयले ताजा फलफूलको नमुना परीक्षण गर्ने क्रममा एउटा नमुनाको परीक्षण चित्तबुझ्दो नआएपछि त्यसलाई होल्डमा राखी पुनः परीक्षण गर्दा मापदण्ड बमोजिम पाइएको कार्यालय प्रमुख अधिकारीले बताए । विराटनगर भन्सार कार्यालय परिसरमा कार्यालय रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रानी विराटनगरले खाद्यवस्तु सहित फलफूल तथा तरकारीको विषादी परीक्षण प्रक्रियालाई सहज बनाउन सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यालयले आर.बि.पि.आर. मेथर्ड प्रविधिबाट खाद्यवस्तु फलफूल तथा तरकारीको परीक्षण गरिरहेका छन् । कार्यालयको आफ्नै सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा रहेको छ । र त्यही प्रयोगशालाबाट आयात निर्यात भइरहेको खाद्यवस्तु सहित फलफूल तथा तरकारीको परीक्षण भइरहेको छ ।

नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम खाद्यवस्तुको स्टेण्डर बमोजिम सबै खाद्यवस्तुको गुणस्तर प्रमाणीकरण गर्ने कार्यालयले सेवा प्रवाह गरिरहेको छन्  । तर कतिपय उद्योगी तथा व्यापारी प्रतिष्ठानले खाद्यवस्तुको प्रमाणीकरण नगराई भन्सार जाँच पास गराएर सामान लगिरहेकोमा कार्यालय प्रमुख अधिकारीले असन्तुष्टि जनाएका छन् ।

खाद्यवस्तुको परीक्षण नगरी भन्सार जाँच पास गराएर लगेको भेटिएमा ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा व्यवस्था छ । तर कतिपय उद्योगी तथा व्यापारी प्रतिष्ठानले खाद्य ऐनको धज्जी उडाइरहेका छन् । कार्यालय प्रमुख अधिकारीले खाद्यवस्तुको अनिवार्य रूपमा परीक्षण गराए लान सरोकारवाला निकायलाई सुझाव दिएका छन् ।