
- ब्रह्मदेव यादव, विराटनगर ३२७ पटक हेरिएको
सोमबार, साउन १२, २०८२ समय : १३:३४:०८ , ३ दिन अगाडि
ज्यालादारी कर्मचारीहरूले सोमबार नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशी प्रदेश समितिले धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशी प्रदेश समितिका अध्यक्ष विनोद गनगाईंले ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राखेर साउन १२ र १३ गते गरी २ दिनसम्म प्राधिकरणको कोशी प्रदेश कार्यालयमा धर्ना कार्यक्रम जारी रहने बताए ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०८० साउन ३१ गते बसेको ९४९औं बैठकले देश भरी रहेका ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्ने निर्णय गरेका थिए ।
२ वर्ष अगाडि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशीले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सोमबार संघर्ष समितिले प्राधिकरणको कोशी प्रदेश कार्यालय घेराउ गर्दा केन्द्रीय समितिका उपाध्यक्ष सरिता दाहाल र कोशी प्रदेश अध्यक्ष विनोद गनगाई नेतृत्वदायी भूमिकामा रहेका थिए ।
नेपाल विद्युत प्राधिकरणको २०७६ को तथ्याङ्क अनुसार देशभर २ हजार ८ सय १३ जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् । जसमध्ये केहीको मृत्यु भइसकेको, उमेर हदबन्दीका कारण केही रिटायर भइसकेको र केही विदेश पलायन भइसकेकोले दैनिक ज्यालादारी कर्मचारीको संख्या घट्न सक्छ ।
सरकारले दैनिक ज्यालादारीका कर्मचारीलाई हाजिरी गरेर काम गरेको दिन ७ सय ३५ रुपैयाँ ज्याला उपलब्ध गराई रहेका छन् । तर दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशीले दैनिक ज्यालादारीलाई मासिक ज्यालादारीमा नियुक्ति गरेर २५ हजार ७ सय ५० रुपैयाँ तलब दिनुपर्ने माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले पाउने तलब सुविधाको तुलनामा दैनिक ज्यालादारी कर्मचारीले माग गरेको २५ हजार ७ सय ५० एक तहको मात्रै तलब हो ।