क्यासिनोका कारण विराटनगरको व्यापार खस्कियो

  • ब्रह्मदेव यादव, विराटनगर ६१८  पटक हेरिएको

मंगलबार, साउन १३, २०८२ समय : १४:२१:५२ , २ दिन अगाडि

दुई क्यासिनोका कारण विराटनगरको व्यापार खस्किएको छ । विराटनगरका चार तारे बिग होटेलमा च्याम्पियन जोन र रत्ना होटेलमा सम्राट क्यासिनो सञ्चालनमा रहेका छन् । र दुवै क्यासिनोमा प्रत्येक रात करोडौँ रुपैयाँ बराबरको हारजितको खेल भइरहेका छन् ।

उद्योगी एवं व्यवसायी दिनभरी उद्योग व्यापार गर्ने र रातीको समयमा उद्योग व्यापारबाट प्राप्त रुपैयाँ क्यासिनोमा उडाउने गरेको कारण विराटनगरको व्यापार खस्किएको हो । उद्योगी व्यवसायीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो समय विराटनगरको दुई क्यासिनोमा उद्योगी व्यवसायीले २ अर्ब भन्दा बढी रुपैयाँ गुमाएका छन् ।

जसमध्ये एक जना उद्योगी एवं व्यवसायीले ३ देखि १० करोड रुपैयाँसम्म क्यासिनो खेलको हारजितमा गुमाएको समाचार सूत्रको दाबी छ । क्यासिनोमा मोटो रकम हारेका केही प्रतिष्ठित औद्योगिक घरानाका युवा विराटनगरबाट पलायन भइसकेका छन् । केही पलायन हुने क्रममा रहेका छन् ।

उद्योगी व्यवसायीले दिनभर व्यापार गरेको रुपैयाँ राती क्यासिनामो उडाइ दिदाँ तिर्नुपर्ने ठाउँमा रुपैयाँ तिर्न नसक्दा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको छ । र व्यापारीलाई ठुला ठुला औद्योगिक एवं व्यापारिक प्रतिष्ठानले उधारोमा सामान नदिँदा व्यापारको अवस्था खस्किएको हो ।

केही दिन अगाडी मारवाडी समुदाय भित्रको एकघटक नेपाल अग्रवाल सभा विराटनगरले आयोजना गरेको वृहत सामाजिक भेलामा समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूले क्यासिनोमा मारवाडी युवाको आवतजावत बढेकोले त्यसलाई रोक्नु पर्ने आवाज उठेका थिए ।

विराटनगरमा रहेका दुई क्यासिनो मध्ये चार तारे बिग होटेलको च्याम्पियन जोन क्यासिनो मजाले चलेको छ । च्याम्पियन जोन क्यासिनोमा भारतीयदेखि विदेशीसम्म आउने गरेकोले मज्जाले चलेका छन् । तर रत्ना होटेलको सम्राट क्यासिनोको अवस्था खस्किँदो छ ।

सम्राट क्यासिनोले सोचेअनुसार व्यापार गर्न नसक्दा सञ्चालक तनावमा रहेका छन् । र केही दिन अगाडी सम्राट क्यासिनोका नयाँ सञ्चालकले क्यासिनो चल्नु पर्ने आस्था राख्दै रुद्री पूजा लगाएका थिए । सम्राट क्यासिनो सोचे अनुसार व्यापार गर्न नसक्दा आधा दर्जन भन्दा बढी सञ्चालक परिवर्तन भइसकेका छन् ।