कोसी अस्पतालमा जलेका बिरामीको उपचारकालागि बेग्लै वार्ड बनाउने नयाँ मेसु सिंहको घोषणा

  • ... २७७  पटक हेरिएको

मंगलबार, फाल्गुण ०२, २०७९ समय : १४:४७:४९ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

कोसी अस्पतालमा जलेका बिरामीको उपचारकालागि बेग्लै वार्ड बनाउने नयाँ मेसु सिंहको घोषणा विराटनगर स्थित कोसी अस्पतालका नयाँ मेडिकल सुपरिडेन्टेन्ड डा. रोबिनराज सिंहले जलेका बिरामीहरुको सहज र सरल तरिकाले उपचार सेवा प्रदान गर्न बेग्लै जलेको बिरामी वार्ड निर्माण गर्ने घोषणा गरेको छ ।

यस अघि कोसी अस्पतालमा अन्य बिरामीको उपचार सेवा गर्ने वार्डमा संगै राखेर जलेका बिरामीको उपचार गर्ने गरेको थियो । जसको कारण जलेका बिरामीको संक्रमण अन्य बिरामीमा सर्ने प्रबल सम्भावना हुँदा हुँदै अस्पताल प्रशासन एउटै वार्डमा जलेका बिरामीहरुको उपचार गर्ने गरेको थियो । मंगलबार नयाँ मेडिकल सुपरिडेन्टेन्डको रुपमा डा. सिंहले कार्यभार सम्हालेका छन् ।

सरकारको आइतबारको मन्त्री स्तरिय निर्णय बमोजिम डा. लक्ष्मीनारायण यादवलाई हटाएर डा. सिंहलाई मेडिकल सुपरिडेन्टेन्डको जिम्मेवारी दिएको छ । सोमबार डा. सिंहले मेडिकल सुपरिडेन्टेन्डमा नियुक्त भएको पत्र प्राप्त गरेका थिए ।

सोमबार सरकारी बिदा भएकोले मंगलबार डा. सिंहले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै मेसु डा. सिंहले कोसी अस्पतालमा मंगलबारदेखि नै हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । नेपाल सहित भारतबाट उपचार सेवा लिन कोसी अस्पताल आउने विरामीहरुलाई सहज र सरल तरिकाले खोजेको वार्ड र चिकित्सकसम्म पु¥याउने गरी हेल्पडेक्स सञ्चालनमा ल्याईको मेसु डा. सिंहले बताए ।

कोसी अस्पतालका जेनरल सर्जन डा. सिंह ११औं तह वा सो सरहको एसोसिएसेट प्रोफेसर हुन् । मंगलबार अस्पतालमा मेसुको पदभार सम्हाल्दै डा. सिंहले आफु ११औं तहकै मान्यता प्राप्त चिकित्सक रहेकोले आफु कसैभन्दा जुनियर नभएको बताए ।