“उद्योग संगठन मोरङको प्रस्ताव, अमडुवाको जग्गामा औद्योगिक क्षेत्र स्थापना गरौं”

  • ब्रह्मदेव यादव, विराटनगर ३०१  पटक हेरिएको

बुधबार, साउन १४, २०८२ समय : १८:१३:५५ , १ दिन अगाडि

उद्योग संगठन मोरङले सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित अमडुवामा रहेको सरकारी स्वामित्व साल्ट ट्रेडिङ लिमिटेडको जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न सरकार समक्ष प्रस्ताव गरेका छन् । उद्योग संगठन मोरङले बुधबार विराटनगरमा सरकारका प्रतिनिधि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तसँग छलफल गर्दै अमडुवामा रहेको करिब ६ सय  बिघा सरकारी जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि उपलब्ध गराउन प्रस्ताव गरेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष पन्तले उद्योग संगठन मोरङलाई सुनसरी अमडुवाको जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि उपलब्ध गराई दिन सञ्चालक समितिको नाममा पत्र पठाउन सुझाव दिए । उद्योग संगठन मोरङले अमडुवाको जग्गा औद्योगिक क्षेत्र स्थापनाको लागि माग गरिसकेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले यस बारे छलफल चलाउने र छलफलबाट निस्केको निष्कर्ष नेपाल सरकार समक्ष पठाउने अध्यक्ष पन्तले आश्वासन दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अमडुवाको जग्गा औद्योगिक क्षेत्र स्थापनाको लागि उपयुक्त जग्गा रहेकोले सञ्चालक समितिलाई यस तर्फ सकारात्मक हुन सुझाव दिए । विराटनगरका उद्योगीले सुनसरी, मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गरिरहेका छन् । जुन औद्योगिक करिडोरमा साना, मझौला र ठुला गरी ७ सय सङ्ख्याको हाराहारीमा उद्योग सञ्चालन भइरहेका छन् । तर सुनसरीको अमडुवामा रहेको सरकारी स्वामित्व साल्ट ट्रेडिङ लिमिडेटको करिब ६ सय  बिघा जग्गा छ ।

जुन औद्योगिक क्षेत्र निर्माणका लागि उपयुक्त जग्गा हो । सुनसरी मोरङ औद्योगिक करिडोरमा अस्तव्यस्त तथा असहज तरिकाले उद्योग सञ्चालन गरिरहेका उद्योगीले अमडुवाको औद्योगिक क्षेत्रमा मोटो रकम लगानी गरेर ठुला उद्योग स्थापना गर्ने छ ।

सुनसरीको अमडुवादेखि नेपाल–भारतको अन्तर्राष्ट्रिय जोगबनी नाका २ किलोमिटरको दुरीमा छ । दोस्रो तथा तेस्रो मुलुकबाट विराटनगर भन्सार कार्यालय सम्म पुगिरहेको औद्योगिक कच्चा पदार्थ अमडुवाको औद्योगिक क्षेत्रसम्म ल्याइ पुर्‍याउन सहज र यातायात खर्च कम हुनेछ ।  विराटनगरको निजी क्षेत्रले पटक पटक सरकारलाई अमडुवाको सरकारी जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि उपलब्ध गराउन माग गर्दै आइरहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट सञ्चालक समितिका अध्यक्ष पन्तले उद्योग संगठन मोरङको पहलमा विराटनगरको निजी क्षेत्रसँग छलफल गर्दै सप्तरी जिल्लाको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा साना तथा मझौला उद्योग स्थापना गर्न सुझाव दिएका छन् ।

जगेन्द्र नारायनण सिंह औद्योगिक क्षेत्रका कार्यालय प्रमुख मनिषकुमार मिश्रले औद्योगिक क्षेत्रमा १५ वटा उद्योग स्थापनाका लागि जग्गा खाली रहेको बताए । ८९.९१ रोपनी क्षेत्रफल जग्गामा १५ वटा साना तथा मझौला उद्योग स्थापनाका लागि नक्साकन भइसकेको अध्यक्ष मिश्रले बताए । ५ देखि ८ रोपनी जग्गामा एउटा उद्योग स्थापनाका लागि जग्गा छुट्याइएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनिया, मोरङ उद्योग व्यापार संघ विराटनगर वरिष्ठ उपाध्यक्ष अनिल साह सहित उद्योगी, व्यवसायी र नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरू छलफलमा सहभागी थिए ।