सबैको किनमेल जोगबनीमा भएपछि विराटनगरको व्यापार खस्कियो

  • ब्रह्मदेव यादव, विराटनगर ४०९  पटक हेरिएको

सोमबार, साउन १९, २०८२ समय : १६:४६:३२ , १ दिन अगाडि

निजी क्षेत्रले नेपाल–भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा किनमेल गर्ने नेपालीको संख्यामा वृद्धि हुँदा विराटनगरको व्यापार खस्किएको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
मोरंग चेम्बर अफ कमर्स छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहमा निजी क्षेत्रले विराटनगरका जति सबैको किनमेल जोगबनी बजारमा भइरहेको कारण ५० प्रतिशतले व्यापार घटेको अवस्था बारे चिन्ता व्यक्त गरेका हुन् ।
निजी क्षेत्र मात्रै होइन सरकारका मन्त्रीले समेत जोगबनीमा भइरहेको किनमेलको कारण विराटनगरको व्यापार खस्किएको अवस्था बारे चिन्ता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले पहाडका सोझा साझाले मात्रै विराटनगरमा किनमेल गर्ने र विराटनगरका जति सबै टाठाबाठा जोगबनीमा किनमेल गरिरहेकोले विराटनगरको व्यापार खस्किएको बताए ।
मन्त्री रानामगरले विराटनगरवासीमा राष्ट्रियताको भावना नदेखिएकोले नेपालको मोटो रकम किनमेलको नाममा भारत पलायन भइरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष उद्योगी राजेन्द्र राउतले पछिल्लो समय ५० प्रतिशतले उद्योगी उत्पादनमा कटौती भएको बताए ।
बजारमा पठाइएको उद्योगी उत्पादनको बिक्रीमा ह्रास आउँदा उद्योगले उत्पादनमा ५० प्रतिशतले कटौती गरेको अध्यक्ष राउतले बताए । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले जोगबनीका कारण विराटनगरको व्यापार खस्किएको अवस्थाप्रति राज्यले जिम्मेवारी लिन नचाहेको बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालीलाई किनमेलका लागि जोगबनी जानबाट रोक्न आफूले सक्दो प्रयास गरेको तर व्यवसायीले साथ नदिँदा जोगबनीमा किनमेल गर्नेको संख्या बढ्दै जाँदा विराटनगरको व्यापार धराशायी भएको बताए ।
मोरंग चेम्बर अफ कमर्सले छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा संस्थालाई सहयोग पुर्‍याउने विभिन्न क्षेत्रका सञ्चालक तथा पदाधिकारीलाई सम्मान गरेका थिए । मोरंग चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा अतिथिको रुपमा सहभागि थिए ।