
- ब्रह्मदेव यादव, विराटनगर ३१४ पटक हेरिएको
बिहिबार, साउन २२, २०८२ समय : १४:३१:३८ , १० घन्टा अगाडि
मोरङको कटहरी गाउँपालिकाले एक जना कर्मचारीलाई जागिरबाट निकालेपछि उसँग आश्रित ५ जना परिवारको जीविका कसरी चल्छ भन्ने विषयलाई लिएर बहस सुरु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद डा. शेखर कोइराला समक्ष कर्मचारी निकालिएको कुरा पुगेको छ । र डा. शेखर कोइरालाले निकालिएको कर्मचारी पुर्नबहाली गर्न कटहरी गाउँपालिकाका जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
१० वर्षदेखि कटहरी गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत सुनिलकुमार कामतलाई कटहरी गाउँपालिका निर्वाचित जनप्रतिनिधि र उच्च पदमा आसीन कर्मचारी तन्त्रले जागिरबाट निकाली दिएको हो ।
जिल्ला कृषि विकास कार्यालय मोरङमा कार्यरत कार्यालय सहयोगी कामतलाई कर्मचारी मिलानको दौरान २०७३ सालमा कटहरी गाउँपालिकामा सरुवा गरेका थिए ।
करार सेवामा कार्यरत कामतलाई कटहरी गाउँपालिकाले करार सेवा थप्दै आइरहेका थिए । केही समय अगाडि विराटनगरको गर्मी छल्न धनकुटाको भेडेटारमा आयोजना गरिएको कार्यपालिकाको बैठकले कामतको करार सेवा अवधि नथप्ने निर्णय गरेका हुन् ।
२०८२ साउन १५ देखि २० गतेसम्म ५ दिने बिदा लिएर धार्मिक यात्रा भारतको बोलबम गएका कामत त्यहाँबाट फर्केपछि कटहरी गाउँपालिकाले जागिर सकिएको भन्दै हाजिर गर्न दिएका छैनन् । यद्यपि कामतले जागिरबाट निकालिएको पत्र बुझेका छैनन् ।
कटहरी गाउँपालिकाको निर्णय विरुद्ध कानुनी लडाई लड्ने कामतले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ६ घर भएका कामत कटहरी गाउँपालिकाको क्वाटरमा बस्दै आइरहेका छन् ।
सुनिलकुमार कामतका श्रीमती संगिता कामत पूर्णरुपमा गृहेणी हुन् । कामतका जेठा छोरा १४ वर्षिय विशाल कामत कक्षा ६ मा, १३ वर्षीय छोरी सिम्रन कामत कक्षा ६ मा र ९ वर्षीय छोरा राज कामत कक्षा ५ मा अध्ययनरत रहेका छन् ।
सुनिलकुमार कामतको कटहरी गाउँपालिकाले जागिर खाइदिएपछि ५ जनाको कामत परिवार सडकमा आइपुगेका छन् । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम बैठकमा सहभागि थिए ।