कटहरीमा कांग्रेससँग किन रिसाए कामत समुदाय

  • ब्रह्मदेव यादव, विराटनगर ३८५  पटक हेरिएको

शुक्रबार, साउन २३, २०८२ समय : १३:५२:५७ , २ दिन अगाडि

स्थानीय सरकार मोरङको कटहरी गाउँपालिकाको एक निर्णयले कामत (केवट) समुदाय नेपाली कांग्रेससँग रिसाएका छन् । कटहरी गाउँपालिकाले १० वर्षदेखि करार सेवामा कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई जागिरबाट निकालेपछि कामत समुदाय कांग्रेससँग रिसाएको हो ।

कटहरी गाउँपालिकामा कामत समुदायको बर्चश्य रहेको छ । र कामत समुदायकै बलमा नेपाली कांग्रेसले लगातार दुई पटक कटहरी गाउँपालिकाको अध्यक्ष पदमा सानदार जित निकालेका छन् । केही दिन अगाडि कटहरी गाउँपालिकाको धनकुटाको भेडेटारमा बसेको कार्यपालिकाको बैठकले करार सेवामा कार्यरत सुनिलकुमार कामतको म्याद थप नगर्ने निर्णय गरेका थिए ।

कटहरी गाउँपालिकाका राजनीतिक एवं समाजसेवी राधे कामतले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अरू कर्मचारीको म्याद थप हुने तर कामत समुदायका कर्मचारीको म्याद थप नहुने बारे गम्भीर चासो व्यक्त गरेका छन् । राधे कामतले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस बारे सामाजिक सञ्जाल प्रयोग कर्ताले धारणा राख्दै कामत समुदायले यस बारे आगामी निर्वाचनमा कांग्रेसलाई जवाफ दिने प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

राधे कामत मात्रै नभई उनको स्ट्याटसलाई ट्याग गर्दै नेपाली कांग्रेसका स्थानीय युवा नेता एवं मकालु टेलिभिजनका पत्रकार पदम सरदारले करार सेवाका कर्मचारी सुनिलकुमार कामतलाई जागिरबाट हटाइएको विषयबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

अघिल्लो पटक नेपाली कांग्रेसबाट कटहरी गाउँपालिकाको अध्यक्ष रहेका रामकुमार कामतको मिटर ब्याजबाट वर्तमान वडा नं. ३ का अध्यक्ष जदु कामत पीडित रहेका छन् । र यस वर्ष कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवराज चौधरीको हैकमवादी प्रवृत्तिका कारण करार सेवाका कर्मचारी सुनिलकुमार कामत पीडित बनेका छन् ।

कटहरी गाउँपालिकाको कार्यपालिकाको बैठकले पूर्व अध्यक्ष रामकुमार कामत र वर्तमान अध्यक्ष देवराज चौधरीले भर्ना गरेका आफन्तको म्याद थप गरेका छन् । तर सुनिलकुमार कामतको म्याद थप नगर्दा उसँग आश्रित श्रीमती संगिता कामत, कक्षा ६ मा अध्ययनरत १४ वर्षीय छोरा विशाल कामत, १३ वर्षीय छोरी सिम्रन कामत र कक्षा ५ मा अध्ययनरत ९ वर्षीय छोरा राज कामत सडकमा आइपुगेका छन् ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले राजश्व अपचलन गरेको र लगाएको काम नगरेको कारण करार सेवामा कार्यरत सुनिलकुमार कामतको म्याद थप नगरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्