साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा इस्कोनको कृष्णजन्माष्टमी कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर २३३  पटक हेरिएको

आइतबार, साउन २५, २०८२ समय : १३:१६:५७ , ६ घन्टा अगाडि

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा कृष्णजन्माष्टमीको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने तयारीमा जुटेको छ । इस्कोन विराटनगरले आइतबार (आज) पत्रकार सम्मेलन गरेर कृष्णजन्माष्टमीको अवसरमा विविध कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराए ।

इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा बिहान ५ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराए । मंगल आरती, सामूहिक जप, गुरु पूजा, श्रीकृष्ण कथा, महानसिंह यज्ञ, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, अभिषेक, बालकृष्ण शृङ्गार प्रदर्शन, अन्तरविद्यालय नृत्य प्रतियोगिता, मङ्की फोड प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन, सन्ध्या आरती, कीर्तन र श्रीकृष्ण जन्म उत्सव एवं महाअभिषेक कार्यक्रम सञ्चालन हुने सचिव जोशीले बताए ।

बिहान ११ बजेदेखि राती १ बजेसम्म कार्यक्रममा सहभागी २ हजार भक्तजनलाई महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । इस्कोन विराटनगरले कृष्णजन्माष्टमीको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक प्रतियोगिताका विजेतालाई नगद सहित पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेले ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

मोरङ जिल्ला भरीका सामुदायिक र संस्थागत विद्यालयले प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । त्यसै गरी चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछ । विराटनगरको जैन भवनमा बिहान ११ बजेदेखि चित्रकला प्रतियोगिता र ३ बजेदेखि अन्तरविद्यालय नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् ।

इस्कोन विराटनगरले अघिल्लो वर्ष कृष्णजन्माष्टमी अवसरमा आयोजना गरेको कार्यक्रममा १२ हजार भक्तजन सहभागी भएका थिए । यस वर्ष २० हजार भक्तजन सहभागी हुने र सहभागी हुने सबै भक्तजनलाई प्रसाद वितरण गर्ने कार्यक्रम रहेको सचिव जोशीले बताए । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथि र कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट विशिष्ट अतिथिको रूपमा इस्कोन विराटनगरको कृष्णजन्माष्टमी कार्यक्रममा सहभागी हुने छन् ।

इस्कोन विराटनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी एवं समाजसेवी बेनिगोपाल मुन्दडा, माहेश्वरी समाज विराटनगरका अध्यक्ष एवं उद्योगी घनश्याम काबरा, उद्योगी एवं समाजसेवी जुगलकिशोर राठी र रोटरीयन रामअवतार अग्रवाल सहभागी थिए ।

इस्कोन विराटनगरले भाद्र १ गते आइतबार विराटनगरमा निस्कने ५८औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा झाँकी सहित सहभागिता जनाउने छन् । इस्कोन विराटनगरले कृष्णजन्माष्टमीको अवसरमा आयोजना गर्न लागेको दुई वटै कार्यक्रमका लागि २५ देखि ३० लाख रुपैयाँ खर्च हुने सचिव जोशीले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्