
- चिरफार डटकम, विराटनगर २२२ पटक हेरिएको
बुधबार, साउन २८, २०८२ समय : १४:२१:१९ , १० घन्टा अगाडि
श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र १ गते विराटनगरमा निकालिने ५८औं संस्करणको श्रीराधाकृष्ण रथ यात्राको लागि नयाँ रथको निर्माण कार्य पुरा भएको छ । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले ५८ वर्षपछि नयाँ रथको निर्माण गरेको हो ।
नयाँ रथ निर्माणका लागि ४५ लाख भन्दा बढी रुपैयाँ खर्च भएको छ । नयाँ रथ निर्माणका लागि खर्च भएको सम्पूर्ण रकम विराटनगर महानगरपालिकाले व्यहोरेको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नयाँ रथ निर्माणका लागि लाग्ने सम्पूर्ण रकम व्यहोर्ने तर आफु रथ भित्र पुजा गर्न जाँदा रथमा ठोकिनु नहुने गरेको प्रस्ताव बमोजिम श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले नयाँ रथ निर्माण गरेको हो ।
नयाँ रथको उचाई २१.३ फिट, लम्बाई १९ फिट र चौडाई १४ फिट रहेको छ । पहिलाको रथको उचाई १८ फिट, लम्बाई १६ फिट र चौडाई १२ फिट रहेको थियो । बन व्यवसायी एवं श्रीराधाकृष्ण रथयात्रा निर्माण समितिका सदस्य विराटनगर–४ निवासी कमलप्रसाद घिमिरेले ४ महिना समय लगाएर नयाँ रथ निर्माण गरेका छन् ।
२०८२ बैशाख १४ गतेदेखि नयाँ रथको निर्माण कार्य सुरु भएर साउन २५ गते सकिएको छ । प्रत्येक दिन १० देखि १२ जना कारिगरले निरन्तर रथयात्रा निर्माण कार्यमा जुटेका थिए । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले ५८ वर्षपछि नेपाल र भारतका ५ लाख भन्दा बढी सनातन हिन्दु धर्मावलम्बीहरुले नयाँ रथको अवलोकन गर्न पाउँने भएकोले आफु उत्साहित रहेको बताए ।