
- ब्रह्मदेव यादव, विराटनगर २२८ पटक हेरिएको
बिहिबार, साउन २९, २०८२ समय : १३:४९:२० , ५ घन्टा अगाडि
थारु समुदायका दुई दर्जन भन्दा बढी संघसंस्थाका पदाधिकारी सहित थारु बुद्धिजीवी र थारु अगुवाहरूले थारु भाषालाई कोशी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन जोडदार माग गरेका छन् । जसको नेतृत्व थारु कल्याणकारिणी सभाले गरिरहेको छ ।
कोशी प्रदेश सरकारले नेपाली सहित लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन कोशी प्रदेश सभामा विधेयक पेश गरिसकेको छ ।
कोशी प्रदेश सरकारको साउन १५ गते बसेको मन्त्री परिषद्को बैठकले प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई पारिद गरिसकेको छ । र कोशी प्रदेश सभाबाट विधेयक बहुमतले पारिद भएर कानुनको मान्यता पाएपछि २०२८ कात्तिक २५ गतेबाट नेपाली भाषाका अतिरिक्त लिम्बु र मैथिली भाषा सरकारी कामकाजको भाषा मान्यता पाउने छ ।
थारु समुदायका संघसंस्थाका पदाधिकारीहरूले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर कोशी प्रदेश सभामा पेश गरिएको भाषा सम्बन्धी विधेयकलाई संशोधन गरेर नेपाली, लिम्बु र मैथिली सँगै थारु भाषालाई कोशी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।
कोशी प्रदेश सरकारले आफ्नो माँगलाई अविलम्ब सम्बोधन नगरेको खण्डमा अधिकारका लागि चरणबद्ध शान्तिपूर्ण आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् । थारु कल्याणकारिणी सभा मोरङका अध्यक्ष प्रदिप भगत थारुले थारु भाषालाई कोशी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउने निर्णय नभएसम्म अधिकार प्राप्तिका लागि शान्ति पूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य गगन सिंह चौधरीले देशका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका थारु नेताहरूले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा समर्थन गरेको बताए । नेकपा एमाले कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी बिहीबार थारु संघसंस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थिए । र उनले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा आफू थारु संघसंस्था सँगै रहेको बताए ।
थारु संघसंस्थाका पदाधिकारीहरूले कोशी प्रदेशमा ४.४० प्रतिशत थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा स्थान नदिएको प्रति दुःख व्यक्त गरेका छन् ।
थारु कल्याणकारिणी सभा मोरङका सभापति प्रदिप भगत, थारु कल्याणकारिणी सभा सुनसरीका सभापति सगेन चौधरी, नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीका अध्यक्ष राजकुमार चौधरी, थारु कल्याणकारिणी सभा उदयपुरका सभापति बेदनारायण चौधरी, थारु महिला सभा मोरङका अध्यक्ष जयमाला सरदार थारु, नेपाल थारु संघ सुनसरीका सभापति नविनकुमार चौधरी, थारु राष्ट्रिय मुक्ति मोर्चा सुनसरीका इन्चार्ज शैलेन्द्र राजधामी, थारु महिला सभा सुनसरीका अध्यक्ष सुशिला लेखी, राष्ट्रिय थारु कलाकार मञ्च सुनसरीका उपाध्यक्ष जनक चौधरी, थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चौधरी, थारु विद्यार्थी सभा उदयपुरका अध्यक्ष रिसिका चौधरी, थारु विद्यार्थी सभा सुनसरीका अध्यक्ष गौरव चौधरी, थारु कल्याणकारिणी सभा विराटनगर महानगरपालिकाका सभापति विद्यानन्द माझी, ग्रामथान संरक्षण समिति सुनसरीका उपाध्यक्ष रामसागर चौधरी, थारु पत्रकार संघ सुनसरीका उपाध्यक्ष पार्वती चौधरी, हौली परिवार सुनसरी र मोरङका अध्यक्ष श्रवणकुमार सुतिहार थारु, थारु महिला उत्थान समाज सुनसरीका अध्यक्ष आशा चौधरी, थारु चलचित्र कर्मीसँग केन्द्रीय कार्यालयका अध्यक्ष कृष्ण चौधरीले बिहीबार पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।