“श्री राधाकृष्ण रथयात्रामा जनसागर मात्रै नभई महासागर ओर्लिन्छ”

  • ब्रह्मदेव यादव, विराटनगर २१७  पटक हेरिएको

शुक्रबार, साउन ३०, २०८२ समय : १७:५३:५४ , १९ घन्टा अगाडि

श्री राधाकृष्ण रथयात्रा आयोजक समिति विराटनगरले यस वर्षको रथयात्रामा जनसागर मात्रै नभई महासागर ओर्लिने जानकारी गराएको छ । श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र १ गते आइतबार विराटनगरमा ऐतिहासिक श्री राधाकृष्ण रथयात्रा निस्कने प्रचलन छ ।

रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले ५८औं संस्करणको रथ ठुलो आकारमा निर्माण भएकोले रथयात्रामा जनसागर मात्रै नभई महासागर ओर्लिने जानकारी गराए । रथयात्रा आयोजक समितिले ५८ वर्षपछि करिब ५० लाख रुपैयाँ खर्च गरेर नयाँ रथ निर्माण गरेको छ ।

रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले चिरफार डटकम सँग कुरा गर्दै भने: रथ भव्य छ । आकर्षक छ । र उच्च कारिगरको प्रस्तुति छ । कलात्मक बुट्टाले रथ भरिएको छ । भगवान् श्री राधाकृष्ण विराजमान हुने रथको सिंहासन उच्च कोटीको छ । सिंहासन माथि चाँदीको छाता जडान गरिएको छ ।

रथको सिंहासनमा चत्रको सजावट छ । अध्यक्ष रेग्मीले थपेः चारवटा पिल्लरमा नयाँ रथ निर्माण गरिएको छ । रथको उचाई बढेको छ । नयाँ रथको उचाई २१.३ फिट, लम्बाई १९ फिट र चौडाई १४ फिट रहेको छ । पहिलाको रथको उचाई १८ फिट, लम्बाई १६ फिट र चौडाई १२ फिट रहेको थियो ।

नयाँ रथमा आकर्षक डिजाइनको लाइटिङ्ग सिस्टम जडान गरिएको छ । रथमा जडान गरिएको ५० वटा भन्दा बढी आकर्षक डिजाइनको लाइट भारतबाट मगाईको छ ।

विराटनगर–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट भाद्र १ गते आइतबार ३ः३० बजे निस्कने रथ नगर क्षेत्रको परिक्रमा पछि राती ९ बजे मन्दिरमा आइपुग्ने कार्यक्रम छ । तर यस पटक ठुलो आकारमा रथ निर्माण गरिएकोले रथ मन्दिरमा आइपुग्न समय लाग्ने छ । ४४ स्थानमा रथ रोक्ने कार्यतालिका रहेको छ । रथको दुवै तर्फ १ सय ६५ फिटको मुजासहित डोरी जडान गरिएको छ । जुन डोरी १ तर्फ पुरुष र अर्को तर्फ महिलाले तानेर रथको अवलोकन सहित दर्शन गर्न पाउने छन् । रथयात्रामा १ हजारदेखि १ हजार २ सयको संख्यामा सुरक्षा परिचालन गरिएको छ ।

यस बाहेक श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले आवश्यकता अनुसार स्वमसेवक परिचालन गरिने छ । श्री राधाकृष्ण रथयात्रा आयोजक समितिले रथयात्राको दौरान भक्तजनलाई १ लाख पिस चक्लेट, ७० हजार बुनियाको प्याकेट, ४० हजार च्यूरा–मखनाको प्याकेट, दुई हजार केजी स्याउ, ५०० केजी नास्पती प्रसादको रूपमा वितरण गरिने अध्यक्ष रेग्मीले बताए ।

श्री राधाकृष्ण रथयात्रा आयोजक समितिले मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीलाई प्रसाद व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिएको छ । नेपाल र भारतका गरी ५ लाख भन्दा बढी सनातन हिन्दु धर्मवलम्बीहरुले रथयात्राको अवलोकन गर्ने अध्यक्ष रेग्मीले बताए ।

रथ यात्रामा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पदृष्ट्रि गरिने छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा पुष्पदृष्ट्रिको लागि हेलिकप्टरको व्यवस्था मिलाइएको छ ।