
- ब्रह्ममदेव यादव, विराटनगर २०९ पटक हेरिएको
शनिबार, साउन ३१, २०८२ समय : १९:१५:१६ , ५ घन्टा अगाडि
विराटनगर–१ स्थिति परमार्थ सिंघिया आरती सेवालाई १ लाख १ हजार रुपैयाँ राशिको पोखरमल राठी धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ । स्व. पोखरमल राठीको नाममा उनका आफन्तहरूले २०६४ सालमा स्थापना गरेको पुरस्कार श्री राधाकृष्ण मन्दिर समितिले प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको दिन वितरण गर्दै आइरहेका छन् ।
श्री राधाकृष्ण मन्दिर समितिले शनिबार आयोजना गरेको सम्मान तथा पुरस्कार सभामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी राजेन्द्र राउत, श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मी र पुरस्कार स्थापनाकर्ता परिवारका तर्फबाट उद्योगी एवं समाजसेवी चम्पालाल राठीले परमार्थ सिंघिया आरती सेवाका संस्थापक एवं प्रमुख संरक्षक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वरिष्ठ पत्रकार शंकर खरेललाई प्रदान गरेका थिए ।
पुरस्कार स्थापनाकर्ता परिवारका तर्फबाट चम्पालाल राठी सँगै सोहनलाल राठी, हंषराज राठी, जगदिश राठी र हरिवंश राठी पुरस्कार वितरण समारोहमा उपस्थित रहेका थिए । शंकर खरेल विराटनगरबाट निरन्तर प्रकाशन भइरहेको न्यू सृष्टि दैनिकका प्रबन्ध निर्देशक, अध्यक्ष तथा प्रधान सम्पादक रहेका छन् ।
खरेलकै सक्रियतामा विराटनगर–१ परोपकार घाट स्थित सिंघिया नदिको किनारामा परमार्थ सिंघिया आरती सेवाको सुरुवात भएको थियो । प्रत्येक शुक्रबार परोपकार घाट स्थित सिंघिया नदिको किनारामा परमार्थ सिंघिया आरती सेवा सञ्चालन भइरहेको छ । जुन आरती सेवामा नेपालका विशिष्ट व्यक्तिहरु सहभागि हुने गरेका छन् ।
परमार्थ सिंघिया आरती सेवाले सिंघिया नदिको बिच भागमा १५ लाख रुपैयाँ खर्चेर ३५ फिटको कैलाशपती महादेवको मूर्ति निर्माण कार्यमा जुटेका छन् । निर्माण हुन लागेको मूर्तिको शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरीले शिलान्यास गरिसकेका छन् ।
नेपालीहरूको महान चार्ड पर्व विजया, तिहार र छठ पर्वको पछि मूर्तिको निर्माण कार्य सुरु हुनेछ । र फागुन महिनामा महाशिवरात्रिको दिन मूर्तिको उद्घाटन गरिने कार्यक्रम रहेको प्रमुख संरक्षक खरेलले बताए । शनिबार १ लाख १ हजार रुपैयाँको पोखरमल राठी धर्म संस्कृति पुरस्कार ग्रहण गर्दै प्रमुख संरक्षक खरेलले पुरस्कार रकम मूर्ति निर्माणमा खर्च गरिने बताए । यस अघि मूर्ति निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।