नयाँ रथको अवलोकन गर्न आएका लाखौँ भक्तजनलाई विराटनगरमा भव्य स्वागत

  • ब्रह्ममदेव यादव, विराटनगर ३५७  पटक हेरिएको

आइतबार, साउन ३२, २०८२ समय : १९:०३:२१ , ८ घन्टा अगाडि

आइतबार नयाँ रथको अवलोकन गर्न आएका लाखौँ भक्तजनलाई विराटनगरवासीले भव्य स्वागत गरेका छन् । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा श्री राधाकृष्ण रथयात्रा निकालिने ऐतिहासिक परम्परा छ । श्री राधाकृष्ण मन्दिर समितिले ५८ वर्षपछि नयाँ रथ निर्माण गरेका छन् ।

४५ लाख भन्दा बढी रकम खर्चेर निर्माण गरिएको नयाँ रथको अवलोकन गर्न आइतबार विराटनगरमा नेपाल र भारतका ५ लाख भन्दा बढी भक्तजन सडकमा ओर्लिएका थिए । नयाँ रथको अवलोकन गर्न आएका भक्तजनलाई विराटनगरवासीले खाना, नास्ता, खिर, पुरी जेरी तरकारी, मिठाई, लस्सी, जुस, सर्वत पानी र चिया कफीले स्वागत गरे ।

विराटनगर–१, पानीटेङ्कीस्थित श्री राधाकृष्ण मन्दिरदेखि लिएर रथयात्राको रुट तयार गरिएको सडकको दुवै तर्फ ३ सय भन्दा बढी संघसंस्था उद्योगी तथा व्यापारी प्रतिष्ठान देखि व्यक्तिगत रूपमा सर्वसाधारणले स्टल राखेर रथयात्राको अवलोकन गर्न आएका भक्तजनलाई विराटनगरवासीले भव्य स्वागत गरेको हो ।

रथयात्रा निस्केपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा नेपाली सेनाको हेलिकप्टरले रथको अवलोकन गर्न आएका भक्तजनलाई स्वागत गर्दै पुष्पदृष्टि गरेका थिए । करिब २ वर्षदेखि विराटनगरको कोशी अस्पतालका बिरामी र कुरुवालाई निःशुल्क दिवा खाना वितरण गर्दै आएको पृथ्वी अग्रवाल अध्यक्ष रहेको नरसेवा नारायण सेवाका पदाधिकारीहरूले विराटनगरमा ठुलो स्टल राखेर हजारौँ भक्तजनलाई खाना नास्ता र प्रसाद वितरण गरेका थिए ।

पवन सुराना, अशोक सुराना र अरुण सुरानाले विराटनगरको तिनपैनी स्थित आफ्नै घर अगाडी स्टल राखेर हजारौँ भक्तजनलाई जुस, पानी र चक्लेट वितरण गरेका थिए ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ केन्द्रीय कार्यालय विराटनगर, श्री बालाजी वावाेसा ट्रष्ट विराटनगर र लायन्स क्लब अफ विराटनगरले संयुक्त रूपमा विराटनगरको महेन्द्र चौक नजिक एस लाल एण्ड सन्स पेट्रोल पम्पको अगाडी स्टल राखेर हजारौँ भक्तजनलाई जुस र पानी वितरण गरेका थिए ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ केन्द्रीय कार्यालय विराटनगरका अध्यक्ष शत्रुधन यादवले हजारौं भक्तजनलाई जुस र पानी वितरण गरिएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र श्री राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले आइतबार ५८औं संस्करणको श्री राधाकृष्ण रथयात्राको शुभारम्भ गरेका थिए ।