ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गर्न लागेको वृहत रक्तदान कार्यक्रमको तयारी सुरु

  • चिरफार डटकम, विराटनगर १७३  पटक हेरिएको

मंगलबार, भाद्र ०२, २०८२ समय : १६:५१:४४ , २४ घन्टा अगाडि

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले आयोजना गर्न लागेको वृहत रक्तदान कार्यक्रमको तयारी सुरु गरेको छ । जुन कार्यक्रमलाई ग्लोबल मेगा रक्तदान अभियान नाम दिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरेर भाद्र ६ देखि ९ गतेसम्म (अगस्ट २२ देखि २५) कोशी प्रदेशमा आयोजना गर्न लागेको रक्तदान कार्यक्रमबाट ३ हजार ६ सय २५ पिन्ट रतग संकलन गर्ने जानकारी गराए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका प्रमुख गीता दिदीले भाद्र ६ गते विराटनगर स्थित सेवा केन्द्रमा आयोजना गर्न लागिएको कार्यक्रमबाट १ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको बताए । भाद्र ७, ८ र ९ गते विराटनगर सहित कोशी प्रदेशको विभिन्न जिल्लामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भाद्र ६ गते विराटनगर स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरको प्राङ्गणमा ग्लोबल मेगा रक्तदान अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको सेवा केन्द्रका मिडिया संयोजक विनोद अग्रवालले जानकारी गराए ।

दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले नेपाल र भारतमा एक साथ रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । जुन रक्तदान कार्यक्रमबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको सेवा केन्द्रका मिडिया संयोजक अग्रवालले बताए ।