
- ब्रह्मदेव यादव, विराटनगर ३२२ पटक हेरिएको
बुधबार, भाद्र ०३, २०८२ समय : १४:१७:०१ , ५ घन्टा अगाडि
मोरङ जिल्लाको कटहरी गाउँपालिकामा नेताका छोरी बुहारी जागिरेको रूपमा कार्यरत रहेका छन् । नेपाली कांग्रेसको तर्फबाट कटहरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित देवराज चौधरीले आफ्नै बुहारी मोनिका चौधरीलाई गाउँपालिकामा जागिर लगाएका छन् ।
नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सीतादेवी राजवंशीले आफ्नै छोरी राधिका राजवंशीलाई गाउँपालिकामा जागिर लगाएका छन् । नेपाली कांग्रेसको तर्फबाट यस अघि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका रामकुमार कामतले आफ्नै छोरी सरिता कामतलाई गाउँपालिकामा जागिर लगाएका थिए ।
गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका बुहारी मोनिका चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशीका छोरी राधिका राजवंशी र पूर्व अध्यक्ष रामकुमार कामतका छोरी सरिता कामत गाउँपालिकामा करार सेवामा कार्यरत रहेका छन् ।
कटहरी गाउँपालिकाका सूचना अधिकारी सुचित्रा अधिकारी खत्रीका अनुसार अध्यक्ष देवराज चौधरीका बुहारी मोनिका चौधरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक, उपाध्यक्ष सीतादेवी राजवंशीका छोरी राधिका राजवंशी स्टोर प्रमुख र पूर्व अध्यक्ष रामकुमार कामतका छोरी सरिता कामत कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेका छन् ।
विराटनगरको गर्मी छल्न केही समय अगाडि धनकुटाको भेडेटारमा बसेको कटहरीको कार्यपालिकाको बैठकले अध्यक्ष देवराज चौधरीका बुहारी मोनिका चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशीका छोरी राधिका राजवंशी र पूर्व अध्यक्ष रामकुमार कामतका छोरी सरिता कामतको करार सेवा अवधि थप गरिएको छ ।