विराटनगरमा पत्रकार माथि प्रहरीको दमन 

  • चिरफार डटकम, विराटनगर १५९  पटक हेरिएको

शुक्रबार, भाद्र ०५, २०८२ समय : १७:२१:२४ , ३ घन्टा अगाडि

शुक्रबार विराटनगरमा पत्रकार माथि प्रहरीले दमन गरेका छन् । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकका विरुद्ध पत्रकारहरूले प्रदेश सभा भित्र र प्रदेश सभा बाहिर एक साथ विरोध प्रदर्शन गरेका छन् ।

कोशी प्रदेश सभा भित्र र कोशी प्रदेश सभा बाहिर विधेयकका विरुद्ध शान्तिपूर्ण रूपमा साङ्केतिक विरोध गरिरहेका पत्रकारहरू माथि प्रहरीले दमन गरेका छन् ।

संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुइँटेलको नेतृत्वमा प्रदेश सभा भित्र र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वमा प्रदेश सभा बाहिर विधेयकका विरुद्ध प्रदर्शन गरिरहेका पत्रकारहरू माथि प्रहरी दमनमा उत्रिएका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र निवर्तमान अध्यक्ष लिलाबल्लभ घिमिरे माथि प्रहरीले दमन गरे । प्रदेश सभा बाहिर प्रदर्शन गरिरहेका पत्रकारलाई प्रहरीले बल प्रयोग गर्दै ठेलेर देवकोटा चौकसम्म पुर्‍याएका थिए । प्रहरी दमनका विरुद्ध पत्रकारहरूले नाराबाजी गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डिएसपी अनमोल खड्का, प्रहरी इन्स्पेक्टर अप्रिल चापागाईँ र आवेश थापा पत्रकार माथि दमनमा उत्रिएका थिए ।

प्रहरी इन्स्पेक्टर आवेश थापा पत्रकार माथि आक्रामक रूपमा प्रस्तुत हुँदै नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का माथि जाइ लागेका थिए । डिएसपी अनमोल खड्का र नेपाल पत्रकार महासंघ कोशीका निवर्तमान अध्यक्ष लिलाबल्लभ घिमिरे बिच चर्काचर्की बहस नै चलेका थिए ।

डिएसपी खड्का र इन्स्पेक्टर थापाको तुलनामा अर्का इन्स्पेक्टर चापागाईँ सहजकर्ताको भूमिकामा देखिएका थिए । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आमसञ्चार विधेयकमा पत्रकारले कसैका विरुद्ध समाचार लेखेको खण्डमा १ लाख रुपैयाँसम्मको दण्ड र सजायको व्यवस्था गरिएको छ ।

कोशी प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा पेस गरेको आमसञ्चार विधेयक न्याय प्रशासन तथा विधान समितिबाट पारित भइसकेका छन् । कोशी प्रदेश सभाबाट विधेयक पारिद भइसकेपछि कानुनी मान्यता पाउने छ ।