आन्तरिक राजश्व कार्यालय विराटनगरमा शाक्यको बिदाई, उप्रेतीलाई स्वागत

  • ब्रह्मदेव यादव, विराटनगर ३३९  पटक हेरिएको

बुधबार, भाद्र ११, २०८२ समय : १५:१२:४० , ४ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यको सरुवा भएको छ । करिब १४ महिनादेखि कार्यालयमा प्रमुख कर अधिकृतको रूपमा कार्यरत शाक्यको भन्सार विभाग त्रिपुरेश्वर काठमाडौँमा सरुवा भएको हो ।

केशवकुमार उप्रेतीको आन्तरिक राजश्व कार्यालय विराटनगरमा प्रमुख कर अधिकृतको रूपमा पदस्थापन भएको छ । उप्रेती अर्थ मन्त्रालयको बजेट महाशाखामा कार्यरत रहेका थिए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुधबार पूर्व कार्यालय प्रमुख शाक्यलाई बिदाई गरिएको छ भने नयाँ कार्यालय प्रमुख उप्रेतीलाई स्वागत गरिएको छ ।

कार्यालयले एक साथ बिदाई र स्वागत कार्यक्रमको आयोजना गरेका थिए । कार्यालयका अधिकृत, नायव सुब्बा र कर्मचारीहरूले विदाई र स्वागत कार्यक्रम आयोजना गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरमा शाक्य प्रमुख कर अधिकृत रहँदा आर्थिक वर्ष २०८१/०८२ मा ८३ प्रतिशतले राजश्व संकलन गर्न सफल भएका थिए । जुन आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा ६.५ प्रतिशतले राजश्व वृद्धि दर हो ।

शाक्यले १ अर्ब ४० करोड राजश्वछली गरिएको नक्कली भ्याट बिल प्रकरणमा विराटनगरका सौरभ बिहानीलाई नियन्त्रणमा लिएर कारबाही गरेका थिए ।

पूर्व कार्यालय प्रमुख शाक्यको सरुवा पछि अब नयाँ कार्यालय प्रमुख उप्रेतीले सौरभ बिहानी नक्कली भ्याट बिल प्रकरणको थप अनुसन्धान गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर मोरङले बुधबार आन्तरिक राजश्व कार्यालय विराटनगरका पूर्व कार्यालय प्रमुख भुपालराज शाक्यलाई बिदाई र नयाँ कार्यालय प्रमुख केशवकुमार उप्रेतीलाई स्वागत गरेका छन् ।

संघका अध्यक्ष शशिभुषण साह र महासचिव कमलेश अग्रवाल सहित सुन चाँदी व्यवसायी आन्तरिक राजश्व कार्यालय विराटनगरमै पुगेर शाक्यलाई बिदाई र उप्रेतीलाई स्वागत गरेका थिए ।