मधेसी पार्टीलाई विभाजन गराइदिनेको अत्तोपत्तो छैन– उपेन्द्र यादव

  • ब्रह्मदेव यादव, विराटनगर ४३१  पटक हेरिएको

सोमबार, भाद्र १६, २०८२ समय : १७:५०:५८ , २ दिन अगाडि

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसी पार्टीलाई विभाजन गराइदिनेको अत्तोपत्तो नरहेको बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक मोर्चाले वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा सोमबार विराटनगरमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसको उदाउँदो शक्तिलाई कमजोर बनाउन मधेसी दललाई विभाजन गराइदिएको स्वीकार गरेका छन् ।

जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने: मधेसी पार्टीलाई विभाजन गराइदिनेको अत्तोपत्तो छैन । तर हामी विभाजित मधेसी पार्टीका नेताहरू अलपत्र अवस्थामा सङ्घर्षरत रहेका छौ । जुन दिन हामी सबै मधेसी पार्टी मिलेर अगाडि बढ्छौ, त्यो दिन सासक वर्ग भाग्छ ।

त्यसका लागि तयारी अवस्थामा रहन अध्यक्ष यादवले जनतालाई आवहन गरेका छन् । त्यो दिन देशमा नक्कली नभई पहिचान सहितको सङ्घीयता स्थापना हुने अध्यक्ष यादवले बताए । हाल कायम रहेको सङ्घीयतालाई अध्यक्ष यादवले नक्कली सङ्घीयताको उपमा दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेन्द्र महत्तो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृखेशचन्द्र लालले जनजागरण अभियानलाई सम्बोधन गरेका थिए ।