
- ब्रह्मदेव यादव, विराटनगर २८६ पटक हेरिएको
मंगलबार, भाद्र १७, २०८२ समय : १३:५४:५१ , २३ घन्टा अगाडि
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौँ केन्द्रित आन्दोलनको तयारी भइरहेको जानकारी गराएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोले मधेसवादी राजनीतिक दल तथा हिमाल र पहाडका आदिवासी जनजाति मिलेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको जानकारी गराए ।
काठमाडौँ केन्द्रित आन्दोलन बारे मधेसवादी पार्टीका शिर्षनेता तथा हिमाल र पहाडका आदिवासी जनजाति सहित अधिकार विहीनहरू बिच छलफल र संवाद जारी रहेको महतोले बताए । केही समयपछि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा हुने र हिमाल पहाड तराई मधेसका अधिकार विहीन सबै जातजाति मिलेर निर्णायक आन्दोलनमा सहभागिता जनाउने महतोले जानकारी गराए ।
नेपालको संविधान २०७२ मा त्रुटि नै त्रुटि रहेको छ । पहिचान तथा अधिकार विहीन सङ्घीयतालाई फाल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा हुन लागेको महतोले बताए । पत्रकार सम्मेलनमा महतोले भने: अमेरिकामा २ सय ५० वर्षमा एउटा संविधान र भारतमा १ सय ७० वर्षमा एउटा संविधान बन्यो ।
अमेरिका र भारत विश्वको शक्तिशाली देश बन्यो । तर नेपालमा छोटो समयमा ७ वटा संविधान बन्यो । तर पनि मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम सहित सिमांकृत वर्ग अधिकार विहीन अवस्थामा पुगेको छ । वन नेशन वन थियौरीको आधारमा शासकले शासन गरिरहेका छन् । अब शासकका विरुद्ध आन्दोलन हुन लागेको महतोले बताए ।
आन्दोलनको ढाँचा र स्वरूप बारे मधेसी दल वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा साझा एजेन्डा बनाउन देश भरी जनजागरण अभियान सँगै छलफल र संवाद जारी राखेको बताए । गरिब नेपालीका छोराछोरी विदेश भागिरहेका छन् । लाखौँ लाख मधेसका छोराछोरी विदेशमा रोजीरोटीका लागि कडा मेहनत गरिरहेका छन् ।
पहाड युवा विहीन अवस्थामा छन् । मधेस युवा विहीन हुन लागेको छ । यसको जिम्मेवारी एक पहिचानका आधारमा शासन गर्ने शासक वर्ग नै रहेको हाम्रो निष्कर्ष र ठहर छ । यसका विरुद्ध मधेसी राजनीतिक दल र हिमाल, पहाडका आदिवासी जनजाति सहित अधिकार विहीनहरू आफ्ना हक र अधिकार सुरक्षित गर्न मिलेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको महतोले बताए ।