विराटनगरका युवा–विद्यार्थी सडकमा उत्रिए

  • ब्रह्मदेव यादव, विराटनगर २६९  पटक हेरिएको

सोमबार, भाद्र २३, २०८२ समय : १५:०४:४० , १७ घन्टा अगाडि

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारको विरुद्धमा विराटनगरका युवा–विद्यार्थी सरकारका विरुद्ध सडकमा उत्रिएका छन् । सोमबार विराटनगरका युवा–विद्यार्थी तिन तहकै सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

सोमबार दिनको ११ बजे विराटनगरको संसारिमाइस्थानमा भेला भएर अगाडि बढेका युवा–विद्यार्थी संघिय सरकार मातहत रहेको जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी प्रदेश सरकारको प्रदेश सभा र स्थानीय सरकार विराटनगर महानगरपालिका अगाडि शक्ति प्रदर्शन गरेर सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध फुकुवा गर्न माँग गरेका छन् ।

प्रतिबन्धित अवस्थामा रहेको सामाजिक सञ्जाल खोल्न ढिलाई गरेको खण्डमा मंगलबारदेखि सरकारका विरुद्ध निरन्तर संघर्षका कार्यक्रम सञ्चालन गर्ने युवा विद्यार्थीले चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि सरकारका विरुद्ध चर्को नाराबाजी गरिरहेका युवा–विद्यार्थीलाई नजिकै अध्ययन गरिरहेका आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले साथ दिएका थिए ।

आदर्श विद्यालय प्रशासनले गेटमा ताल्चा लगाएर विद्यार्थीलाई बाहिर निस्कन नदिएपछि एक तल्लादेखि ३ तल्लासम्मको कक्षा कोठामा अध्ययनरत विद्यार्थीहरूले त्यहीबाट सरकारका विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई साथ दिएका थिए । लगत्तै युवा–विद्यार्थीले स्थानीय सरकार विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका थिए । महानगरपालिकाको गेटमा झुन्डाइएको थोत्रो पुराना झन्डा निकालेर नयाँ राष्ट्रिय झन्डा झुन्डाएका थिए ।

युवा विद्यार्थी महानगरपालिकाको गेटमै चढेर नयाँ झन्डा फहराई राख्दा आन्दोलनरत युवा–विद्यार्थी राष्ट्रिय गान गाएका थिए । त्यसपछि युवा विद्यार्थी कोशी प्रदेश सभा अगाडि प्रदर्शन गरेका थिए ।

प्रदर्शनको क्रममा युवा विद्यार्थी र प्रहरी बिच भनाभन भएको थियो । युवा विद्यार्थीले नगर क्षेत्रमा शक्ति प्रदर्शन गर्दै विभिन्न सरकारी कार्यालय अगाडि उभिएर सरकारका विरुद्ध नाराबाजी गरेका थिए । हजारौँको संख्यामा प्रदर्शन गरिरहेका युवा विद्यार्थी अगाडि प्रहरी निरीह बनेका थिए ।

युवा विद्यार्थीहरुले सोमबार नै विराटनगरको महेन्द्र चौकमा घण्टौं धर्नामा बसेर यातायात ठप्प पारेका थिए । विराटनगरबाट पक्राउ परेका विद्यार्थीलाई अविलम्ब रिहा नगरे मंगलबारदेखि अनिश्चित कालकालागि यातायात ठप्प पार्ने युवा विद्यार्थीले सरकारलाई चेतावनी दिएका छन् ।