सुरक्षाको ग्यारेन्टी नभएसम्म सरकारी कार्यालय सञ्चालन हुन सक्दैन

  • ब्रह्मदेव यादव, विराटनगर ५३३  पटक हेरिएको

बुधबार, भाद्र २५, २०८२ समय : १७:३६:४२ , ७ महिना अगाडि

सुरक्षाको ग्यारेन्टी नभएसम्म कार्यालय सञ्चालन हुन सक्ने अवस्था नरहेको सरकारी कार्यालयका प्रमुखहरूले धारणा व्यक्त गरेका छन् । जेन–जी आन्दोलनको क्रममा मंगलबार विराटनगरमा डेढ दर्जनभन्दा बढी सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका छन् ।

तोडफोड र आगजनी भएका सरकारी कार्यालयको मर्मत सम्भार र पुर्ननिर्माणको काम पुरा नभएसम्म कार्यालय सञ्चालन हुन सक्ने अवस्था नरहेको ती कार्यालयमा कार्यरत प्रमुखको भनाइ छ । सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी पछि सरकारी कार्यालयका कर्मचारी आफूलाई असुरक्षित महशुस गरिरहेका छन् । र सरकारले ग्यारेन्टीको जिम्मेवारी नलिएसम्म काममा फर्किन सक्ने अवस्था नरहेको कार्यालय प्रमुखले धारणा व्यक्त गरेका छन् ।

संघिय सरकार मातहत रहेको आन्तरिक राजश्व कार्यालय विराटनगरमा सबै भन्दा बढी क्षति भएको छ । कार्यालय प्रमुखदेखि अधिकृत र कर्मचारी बसेर काम गर्ने मुख्य भवन पुरै तोडफोड भएको छ । जहाँ तुरुन्तै बसेर सेवाग्राहीलाई सेवा प्रवाह गर्न सक्ने अवस्था छैन । कार्यालय परिषरमै रहेको कार्यालय प्रमुख बस्ने निवासमा तोडफोड भएको छ । निवास भित्र रहेका सबै सामग्री निकालेर आन्दोलनकारीले जलाई दिएको अवस्था छ ।

कार्यालय परिषरमा बेग्लै तथ्याङ्क भवनमा रहेको कागजात आन्दोलनकारीले जलाई दिएका छन् । कार्यालय परिषरमा अधिकृत र कर्मचारीका खान र नास्ताका लागि खोलिएका क्यान्टिनमा समेत तोडफोड भएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले देशमा सरकार नै नरहेको अवस्थामा कसको आदेश र निर्देशन बमोजिम काम गर्ने टुङ्गो नलागेसम्म कार्यालयबाट सेवा प्रवाह सुचारु हुन नसक्ने बताए ।

उनले आफू साथी भाइको घरमा बास बसिरहेको बताए । संघिय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयका प्रमुखदेखि अधिकृत र कर्मचारी बस्ने निवास तोडफोड भएको छ । नेपाल भारतको अन्तर्राष्ट्रिय सिमा नाका रानी नाका सँगै रहेको विराटनगर भन्सार कार्यालयको निवासमा मंगलबार आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।

विराटनगर भन्सार कार्यालयको निवास भन्दा ३ किलोमिटरको दुरीमा रहेको विराटनगर महानगरपालिकाको वडा नं. १८ बुधनगर स्थित मुख्य प्रशासनिक भवनमा कुनै प्रकारको क्षति भएको छैन । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ सहित भन्सार अधिकृत र कर्मचारी निवास बाहिर बस्नु पर्ने अवस्था छ । प्रमुख भन्सार अधिकृत श्रेष्ठले विराटनगरको बजार क्षेत्रमा बसाई रहेको बताए ।

सुरक्षाको ग्यारेन्टी नभएसम्म विराटनगर भन्सार कार्यालयबाट सेवा सुचारु हुन नसक्ने प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए । मंगलबार विराटनगरमा जेन–जीको आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ, मालपोत कार्यालय मोरङ, जिल्ला अदालत मोरङ, उच्च अदालत मोरङ, कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङ, कर्मचारी सञ्चय कोष मोरङमा तोडफोड र आगजनी भएको छ । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पशुपंक्षी कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा सिचाई मन्त्रालयमा तोडफोड र आगजनी भएका छन् । विराटनगर महानगरपालिका गुण नियन्त्रण तथा खाद्य प्रविधि कार्यालय विराटनगर सहित आधा दर्जन भन्दा बढी कार्यालयमा तोडफोड र आगजनी भएका छन् ।

नेकपा एमालेको विराटनगर स्थित मोरङ जिल्ला पार्टी कार्यालय र व्यवसायकी मीनबहादुर गुरुङको विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी भएका छन् । भाटभटेनी सुपर मार्केट आगजनीका कारण पूर्व रूपमा जलेर ध्वस्त भएका छन् । भाटभटेनीमा मंगलबार लागेको आगो बुधबारसम्म जारी छ । तर कुनै सरकारी निकायले आगलागीलाई नियन्त्रणमा लिने प्रयास गरेका छैन ।