विराटनगरमा जेन–जी दुई समूहको बेग्लाबेग्लै पत्रकार सम्मेलन

  • ब्रह्ममदेव यादव, विराटनगर ४३९  पटक हेरिएको

बिहिबार, भाद्र २६, २०८२ समय : १७:४५:३० , २ दिन अगाडि

बिहीबार विराटनगरमा जेन–जी युवा पुस्ताका दुई समूहले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरेर आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
दुई समूहको बेग्लाबेग्लै पत्रकार सम्मेलनका कारण स्थिति तनावमय बनेको हो । सुरुमा दीपल बन्जरा र जमसेद को–रोज समूहले पत्रकार सम्मेलन गरेर अब बन्ने अन्तरिम सरकारको कार्यकारी प्रमुखमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम प्रस्ताव गरेका छन् ।
कार्की कार्यकारी प्रमुखका लागि उपयुक्त र योग्य उम्मेदवार रहेको जेन–जी को ठम्याई छ । दीपल र जमसेद समूहले संसद विघटन सँगै सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
विराटनगरमा दीपल र जमसेद समूहले पत्रकार सम्मेलन गरिरहेको बेला राजनीतिक करण हाबी भयो भन्दै कृतम श्रेष्ठ समूहले हस्तक्षेप गर्दै सोही मञ्चमा अर्को पत्रकार सम्मेलन गरेका छन् ।
कृतम श्रेष्ठ समूहले दीपल बन्जरा समूहका जमसेदलाई नेकपा एमालेको प्रतिनिधि भएको आरोप लगाउँदै अन्तरिम सरकार गठनका लागि भइरहेको प्रयास माथि राजनीति नगर्न सुझाव दिएका छन् ।
पत्रकार सम्मेलनमा दुवै समूह बिच चर्काचर्की चलेको थियो । जमसेद एमाले निकट अनेरास्ववियु मोरङ जिल्ला कमिटीका पदाधिकारी रहेका छन् । र उनी एमालेबाट परिचालित रहेको आरोप लगाइएको छ ।
कृतम श्रेष्ठ समूहले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलबाट सांसद भइसकेका व्यक्ति पुनः लड्न नपाउने, राजनीतिक दलको भातृसंगठन माथि प्रतिबन्ध लगाउनु पर्ने तथा राजनीतिक दलका संघ संगठनलाई खारेज गर्नुपर्ने माँग अघि सारेका छन् ।