आफ्नो र परिवारको ज्यान जोखिममा राखेर उद्योग चल्न सक्दैन– पवन सारडा

  • ब्रह्मदेव यादव, विराटनगर ५५७  पटक हेरिएको

शुक्रबार, भाद्र २७, २०८२ समय : १५:३१:३१ , १९ घन्टा अगाडि

संविधान सभाका सदस्य, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष वरिष्ठ उद्योगी पवन सारडाले आफ्नो र परिवारको ज्यान जोखिममा राखेर उद्योग व्यवसायी सञ्चालन गर्न सक्ने अवस्था नरहेको धारणा व्यक्त गरेका छन् ।

जेन–जी युवा पुस्ताको आन्दोलन पछि शुक्रवार विराटनगरमा चिरफार डटकम सँग विशेष कुराकानी गर्दै उद्योगी सारडाले सुरक्षाको ग्यारेन्टी नभएसम्म उद्योग व्यवसायी चल्न नसक्ने बताए । जेन–जी युवा पुस्ताको आन्दोलनको क्रममा राज्यलाई राजश्व बुझाउने र बेरोजगार युवालाई रोजगार उपलब्ध गराउने निजी क्षेत्र माथि भएको तोडफोड, आगजनी र आक्रमण निन्दनीय रहेको सारडाले बताए ।

आन्दोलनको क्रममा निजी क्षेत्रले सञ्चालन गरिरहेको उद्योग, व्यवसायी, होटेल र कार्यालय माथि छानी छानी तोडफोड र आगजनी गरिएको थियो । जुन काम निन्दनीय र खेद जनक रहेको सारडाले बताए । नेपालका नाम चलेका ठुला ठुला उद्योगीले जेन–जी आन्दोलनको क्रममा आफ्नो उद्योग र कार्यालयको पर्खालबाट हामफालेर ज्यान जोगाएको सारडाले बताए ।

ठुला ठुला उद्योगी आन्दोलनको क्रममा आफ्नो इष्टमित्र र आफन्तको शरणमा पुगेर ज्यान जोगाएको निजी क्षेत्र अहिलेको अवस्थामा आफ्नो र परिवारको ज्यान जोखिममा राखेर उद्योग व्यवसायी सञ्चालन गर्न नसक्ने सारडाले बताए । चिरफार डटकम सँग कुरा गर्दै सारडाले थपे– निजी क्षेत्र मानसिक रूपमा क्षतविक्षतको अवस्थामा छ । मनोबल घटेको छ । युवा उद्यमी नेपालमा उद्योग व्यवसायी सञ्चालन गर्ने पक्षमा रहेका छैनन् ।

नयाँ लगानी भित्रिने कुनै सम्भावना छैन । र भएको लगानी विस्थापित हुने सम्भावना बढेर भएको छ । यस्तो तरिकाले उद्योग व्यवसायी चल्न नसक्ने सारडाको भनाई छ । यतिखेर निजी क्षेत्रले सञ्चालन गरिरहेको उद्योगमा कसले कतिबेला आगो लगाइ दिने हो । त्यो भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा कसरी उद्योग चल्न सक्छ । यस्तो विषम परिस्थितिमा निजी क्षेत्र गम्भीर भएर बहस र छलफल गरिरहेको सारडाले बताए ।

चिरफार डटकम सँग कुरा गर्दै सारडाले भने– अब बन्ने नयाँ सरकारले निजी क्षेत्रको मान प्रतिष्ठा र उसको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन भने व्यापक रूपमा निजी क्षेत्र पलायन हुने सम्भावना रहन्छ । किन भने उद्योगी व्यवसायीले काम गर्दा ज्यानलाई जोखिममा राखेर पैसाको लागि मात्रै काम गर्न सक्दैन । जसरी आज नेपालका युवा उज्ज्वल भविष्यका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, भारत लगायतका देशमा रोजगारीका लागि पलायन भइरहेका छन् ।

निजी क्षेत्र त्यही सोचेर बाहिर गयो भने देशको अवस्था के हुन्छ । यस बारे नागरिक र नयाँ बन्ने सरकारले समयमै सोच्नु पर्ने अवस्था आएको छ । जेन–जीको आन्दोलन पछि लगातार तिन दिनसम्म देश भरी उद्योग व्यवसायी सञ्चालन गरिरहेका उद्योगी व्यवसायी र उद्योगी व्यवसायी सँग आवद्ध पदाधिकारीसँग गरेको छलफल पछि सारडाको यो भनाई बाहिर आएको हो ।

कोभिड–१९ महामारीको बेला सबै मान्छे घरमा बसिरहेको बेला ज्यान जोखिममा पारेर उद्योगी व्यवसायीले खाद्यान्नदेखि उपभोग बस्तु निरन्तर सप्लाई गरेका थिए । आम मान्छेले निजी क्षेत्र प्रति हेर्ने दृष्टिकोणमा अविलम्ब परिवर्तन आउनु पर्छ । तर यतिखेर उद्योगी व्यवसायी माथि जुन घटना घट्यो त्यस प्रति आफू दुखी रहेको सारडाले बताए ।

जेन–जी आन्दोलनको क्रममा सडकमा उत्रिएका स्कुल कलेजमा अध्ययनरत विद्यार्थी माथि राज्यले गरेको दमनको निन्दा र घोरभत्सना गर्दछु सारडा भनेका छन् ।