- ब्रह्मदेव यादव, विराटनगर ४८६ पटक हेरिएको
शुक्रबार, आश्विन ०३, २०८२ समय : १४:१३:५९ , ७ महिना अगाडि
मधेस विद्रोहका संस्थापक रामविलास यादवको ६७ वर्षको उमेरमा निधन भएको छ । २०६२/०६३ को मधेस विद्रोहलाई उचाईमा पुर्याउन मधेस र मधेसवासीको अधिकार स्थापित गराउन स्व. यादवको ठुलो देन छ । २ वर्ष भन्दा बढी समयदेखि क्यान्सर रोगसँग लडिरहेका यादवको शुक्रबार ब्रेन हेमरेजको कारण निधन भएको छ ।
यादव जनता समाजवादी पार्टी नेपाल (तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल) का संस्थापक सदस्य हुन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई शिक्षण पेसाबाट माथि उठाएर राजनीतिक उचाईमा पुर्याउन यादवको ठुलो देन छ । माओवादीको आरोपमा उपेन्द्र यादवको व्यापक खोजी भइरहेको बेला उनी लामो समयसम्म भारतमा निर्वासन जीवन बिताइ रहँदा रामविलास यादवले सहयोगी उपेन्द्र यादवलाई सबै प्रकारको सहयोग गरेका थिए ।
उपेन्द्र यादव पटक पटक पार्टीको केन्द्रीय अध्यक्षदेखि नेपाल सरकारका उपप्रधानमन्त्री बन्न सफल भए । तर सहयोगी रामविलास कहिले पनि पदको लोभ गरेनन् । र उनले लगातार २५ वर्षसम्म जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यको भूमिकामा रहेर उपेन्द्र यादवले साथ दिए । २०१५ सालमा सिरहा जिल्लाको बरियारपट्टी–४, सोहपुरमा जन्मिएका यादव लामो समयदेखि जागिरको सिलसिलामा विराटनगरमा बसोबास गर्दै आएका थिए ।
उनका श्रीमती २ छोरा र १ छोरी रहेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य योगिलाल यादव, केन्द्रीय सदस्य जयराम यादव र मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । यादवको शुक्रबार विराटनगरस्थित हाटखोलामा अन्त्येष्टि गरिएको छ ।