- ब्रह्मदेव यादव, विराटनगर ३२३ पटक हेरिएको
शुक्रबार, आश्विन ०३, २०८२ समय : १८:३५:२२ , ७ महिना अगाडि
मधेस केन्द्रित राजनीतिक दलले असोज ३ गतेलाई कालो दिन भनेको छ । मोर्चाले नेपालको संविधान २०७२ लाई अधुरो संविधान तथा नश्लीय राज्यसत्ता विरुद्ध असोज ३ लाई कालो दिन भनेको छ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधान जारी भइरहँदा मधेसवादी दल सडक आन्दोलनमा उत्रिएका थिए ।
यद्यपि सरकारले बन्दुकको भरमा मधेसवादी दलको आवाजलाई कुचल्दै संविधान जारी गरेका थिए । संविधान संशोधनका लागि मधेसवादी दलले गठन गरेको संघिय लोकतान्त्रिक मोर्चाले असोज ३ गतेलाई कालो दिनको रूपमा व्याख्या गरेका छन् ।

संघिय लोकतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय संयोजक शिवजी यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रूपमा मनाएको बताए ।
संघिय लोकतान्त्रिक मोर्चाले संविधान जारी भएको दिन असोज ३ गते शुक्रबार देशको विभिन्न जिल्लामा संविधान संशोधनको माँग गर्दै प्रदर्शन गरेका छन् ।

संघिय लोकतान्त्रिक मोर्चाको एकघटक महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला अध्यक्ष कादिर मियाले दुई चार जना व्यक्तिले ल्याएको संविधान मान्य नरहेको बताए ।
मधेसी, मुस्लिम, आदिवासी, जनजाति र दलितलाई बराबर अधिकारको ग्यारेन्टी गर्न संविधान संशोधन एक मात्र आवश्यकता रहेको बताए ।