डा. संगिता मिश्रा किन मन्त्री हुन सकेनन् ?

  • चिरफार डटकम, विराटनगर ५९१  पटक हेरिएको

सोमबार, आश्विन ०६, २०८२ समय : १८:०६:४९ , ७ महिना अगाडि

विराटनगरका डा. संगिता मिश्रा किन मन्त्री हुन सकेनन् सर्वत्र चर्चा र बहसको विषय बनेको छ । जेन–जी आन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा डा. मिश्रालाई स्वास्थ्य मन्त्री बनाउने प्रस्ताव गरिएको थियो ।

आइतबार राती स्वास्थ्य मन्त्रीमा प्रस्ताव गरिएको डा. मिश्राको नाम सोमबार बिहान सूचिबाट हटाइएको थियो । सोमबार डा. मिश्राले स्वास्थ्य मन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको थियो । तर सोमबार बिहान एकाएक मन्त्री बन्ने लिस्टबाट डा. मिश्राको नाम हटाइयो ।

मन्त्रीको सूचिबाट डा. मिश्राको नाम हटाइएपछि सामाजिक सञ्जालमा यस बारे पक्ष र विपक्षमा तिखो टिप्पणी र बहस सुरु भएको छ । नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. मिश्रा अंगीकृत नागरिक रहेको र उनी माथि भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेकोले उनलाई मन्त्री हुनबाट रोकिएको हो । भारतको झारखण्ड राज्यका छोरी डा. मिश्रा नेपाली बुहारी हुन् ।

डा. मिश्राको विराटनगर निवासी राकेश मिश्रा सँग विवाह भएको हो । राज्यको उच्च तहमा अंगीकृत नागरिक पुग्नु हुँदैन भन्ने मान्यता अनुरूप डा. मिश्रालाई मन्त्री हुनबाट रोकिएको हो । डा. मिश्रा विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भइसकेकी हुन् ।

स्वास्थ्य मन्त्रालयमा सचिव पदमा कार्यरत रहँदा सामान खरिद गर्दा भ्रष्टाचारको आरोप लागेको थियो । जेन–जी युवा पुस्ताले आन्दोलन गर्दा भ्रष्टाचार उन्मुलन मुख्य मुद्दा रहेको थियो । भ्रष्टाचारको आरोप खेपिरहेका डा. मिश्रालाई स्वास्थ्य मन्त्री बनाउनु हुँदैन भन्ने जमात ठुलो देखिएकोले उनलाई मन्त्री हुनबाट रोकिएको हो ।