- चिरफार डटकम, विराटनगर ८३९ पटक हेरिएको
बुधबार, आश्विन ०८, २०८२ समय : १५:५४:३९ , ७ महिना अगाडि
जितेन्द्र राठी र श्याम राठी सञ्चालक रहेको अन्नपूर्ण राठी केबल इण्डष्ट्रिज लि. ले मोरङको दुई सरकारी कार्यालयलाई ७ लाख रुपैयाँ बराबरको विद्युतीय सामग्री हस्तान्तरण गरेका छन् ।
अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले भाद्र २४ गते जेन–जी युवा पुस्ताको आन्दोलनको क्रममा आगजनीबाट पूर्ण रूपमा प्रभावित जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर र मालपोत कार्यालय मोरङ विराटनगरलाई ७ लाख रुपैयाँ बराबरको विद्युत् जडान गर्ने सामग्री हस्तान्तरण गरेका हुन् ।
अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजका अध्यक्ष जितेन्द्र राठी र प्रबन्ध निर्देशक श्याम राठीले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ४ लाख रुपैयाँ बराबरको विद्युतीय सामग्री हस्तान्तरण गरे ।
मंगलबार मालपोत कार्यालय मोरङ विराटनगरलाई ३ लाख रुपैयाँ बराबरको विद्युतीय सामग्री हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक श्याम राठीले बताए ।
प्रबन्ध निर्देशक श्याम राठीका अनुसार व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर र मालपोत कार्यालय मोरङ विराटनगरलाई विद्युत् जडानका लागि चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको बताए ।
मोरङ जिल्लाको कटहरी गाउँपालिकाको वडा नं. ४ मा अन्नपूर्ण राठी केबल इण्डष्ट्रिज सञ्चालनमा रहेका छन् । जुन उद्योगले विषम परिस्थितिमा देशलाई आवश्यक परेको बेला व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग गरिरहेका छन् ।