निर्माण व्यवसायी संघले सिडिओ कार्यालयको संरचना निर्माण गर्दै

  • ब्रह्मदेव यादव, विराटनगर ४०५  पटक हेरिएको

बिहिबार, आश्विन ०९, २०८२ समय : १५:५३:११ , ७ महिना अगाडि

निर्माण व्यवसायी संघ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङको संरचना निर्माण गरिरहेको छ । भाद्र २४ गतेको जेन–जी युवापुस्ताको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालय मोरङको संरचना जलेका छन् ।

निर्माण व्यवसायी संघ मोरङले १५ लाख भन्दा बढी रुपैयाँ खर्च गरेर जिल्ला प्रशासन कार्यालय मोरङको राष्ट्रिय परिचय–पत्र शाखा, राहदानी शाखा, नागरिकता शाखा, मुद्द शाखा र शौचालयको निर्माण कार्य गरिरहेका छन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष महेश मिश्रले जनतालाई सबै भन्दा बढी राष्ट्रिय परिचय–पत्र, राहदानी, नागरिकताको आवश्यकता रहेकोले ती शाखाको निर्माण तथा मर्मत सम्भारको कार्य भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङको सबै भन्दा बढी राष्ट्रिय परिचय–पत्र शाखा जलेर ध्वस्त भएका छन् । निर्माण व्यवसायी संघ मोरङले राष्ट्रिय परिचय–पत्र शाखाका लागि नयाँ संरचनाको निर्माण गरिरहेका छन् । राहदानी, नागरिकता र मुद्दा शाखामा अल्मुनियमका झ्याल ढोका जडान गर्ने काम भइरहेको छ ।

निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्र र सह–कोषाध्यक्ष संजय यादवको टोली निर्माण स्थलमा खटिएका छन् । र युद्ध स्तरमा काम भइरहेको अध्यक्ष मिश्रले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ध्वस्त संरचनाको निर्माण तथा मर्मत कार्यका लागि निर्माण व्यवसायी संघ मोरङ अगाडी बढेको बताए ।