
- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
मंगलबार, आश्विन २१, २०८२ समय : १५:१८:१० , ७ दिन अगाडि
विराटनगरका कारोबारीहरूले लागतको तुलनामा दोब्बर मूल्य लिएर चामल बिक्री गरिरहेका छन् । विराटनगरका चामल उद्योग र चामलको प्याकेजिङ उद्योग सञ्चालन गरिरहेका कारोबारीहरूले प्रतिकेजी १ सय रुपैयाँ भन्दा बढी नाफा लिएर चामल बिक्री गरिरहेका छन् ।
विराटनगर भन्सार कार्यालयबाट प्रतिकेजी (लङ ग्रेड बासमती) ६० रुपैयाँका दरले मूल्याङ्कन गराउँछन् । कारोबारीले प्रतिकेजी चामलमा १० रुपैयाँका दरले कृषि सुधार शुल्क (भन्सार राजश्व) तिर्छन र प्रतिकेजी १० रुपैयाँका दरले यातायात (ढुवानी) खर्च तिर्छन ।
प्रतिकेजी ६० रुपैयाँका दरले मूल्याङ्कन, प्रतिकेजी १० रुपैयाँका दरले भन्सार राजश्व र प्रतिकेजी १० रुपैयाँका दरले यातायात खर्च तिरेर प्रतिकेजी चामलको मूल्य ८० रुपैयाँ पर्छ । तर त्यही चामल विराटनगरमा प्रतिकेजी (लङ ग्रेड बासमती) १ सय ८० रुपैयाँका दरले बिक्री भइरहेका छन् ।
८० रुपैयाँको चामलमा १ सय रुपैयाँ नाफा लिएर बिक्री गरिरहँदा पनि नेपाल सरकार मौन छ । विराटनगरमा थकाली ब्रान्ड, टिम्मुर ब्रान्ड, राठी ब्रान्ड र कृष्ण भोग ब्रान्ड लगायत १ दर्जन भन्दा बढी चामल उद्योग र चामलको प्याकेजिङ उद्योगले महँगोमा चामल बिक्री गरेर सर्वसाधारणको पकेट मारिरहेका छन् । यस तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टुलुटुलु हेरेर बसिरहनुमा रहस्य उब्जिएको छ ।