सीसी टिभी क्यामराको अभावमा विराटनगरमा अपराधको घटनामा वृद्धि

  • ब्रह्मदेव यादव, विराटनगर ३२०  पटक हेरिएको

शुक्रबार, कार्तिक ०१, २०८२ समय : १३:४८:१९ , २ दिन अगाडि

सीसी टिभी क्यामराको अभावमा विराटनगरमा अपराधको घटनामा वृद्धि भइरहेको छ । अपराधिक गिरोह समूहले रातीको समयमा नकाब लगाएर उद्योगी तथा व्यापारिक प्रतिष्ठानलाई आतंकित पार्ने कार्यमा जुटेका छन् । विराटनगरमा अपराधिक क्रियाकलाप सुरु भएसँगै निजी क्षेत्र आफूलाई असुरक्षित महसुस गर्दै आतंकित अवस्थामा छ ।

भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा निजी क्षेत्रलाई लक्षित गरेर तोडफोड र आगजनी गरिएको थियो । र यतिखेर पुनः अपराधिक समूहले निजी क्षेत्रलाई लक्षित गरेर अपराधिक क्रियाकलाप गरिरहेका छन् । विराटनगरको मुख्य सडक मार्गमा सीसी टिभी क्यामरा विहीन अवस्थामा छन् ।

सीसी टिभी क्यामरा नभएको मौकाको फाइदा उठाउँदै अपराधिक समूहले निजी क्षेत्रलाई निसाना बनाइ रहेका छन् । अपराधिक समूहले रातीको समयमा निजी क्षेत्रले मुख्य सडक मार्गमा पार्किङ गरेर राखेको सवारी साधना तोडफोड गरिरहेका छन् । र लुटपाटमा समेत अपराधिक गिरोह संलग्न रहेकोले निजी क्षेत्र आतंकित अवस्थामा छन् । विराटनगरमा सेन्ट्रल मल भित्रको सेन्ट्रल बजार संचालन गरिरहेका राकेश जैनको कार तोडफोड भएको छ ।

विराटनगर महानगरपालिकाको अगाडि घर भएका जैनले मुख्य सडक पार्कमा पार्किङ गरेर राखेको प्रदेश १–०–४–००१च/०२९१ नम्बरको किया कम्पनिको कारमा आपराधिक समूहले तोडफोड गरेका छन् । तोडफोडका कारण १ लाख भन्दा बढी रकम बराबरको क्षति भएको छ ।

असोज २५ गते शनिबार राती २ बजेको समयमा मोटरसाइकलमा आएका २ जना नकापधारी समूहले जैनको कारमा ढुंगाले हानेर तोडफोड गर्दै फरार भएको निजी क्षेत्रको एक घरको सिसी टिभी फुटेज क्यामराले पुष्टि गरेको छ । बजारको मुख्य सडक मार्ग विराटनगर महानगरपालिका, गोल्छा चौक, अतिथि सदन अगाडीको ठुलो क्षमताको सीसी टिभी क्यामरा बिग्रिएको कारणले नकापधारी समूहको पहिचानमा समस्या आएको मोरङ प्रहरीको भनाई छ ।

यद्यपि मोरङ प्रहरी अपराधिक समूह पत्ता लगाउन प्रहरी टोली परिचालन गरेर अपराध अनुसन्धानको कार्य गरिरहेका छन् । नेपालीहरूको मुख्य चार्ड विजया दशमीको समयमा घरमा ताल्चा लगाएर बाहिर हिँडेका १ दर्जन भन्दा बढी सर्वसाधारणको घरमा तोडफोड र लुटपाट भएका छन् । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल घटनाको अनुसन्धान भइरहेको जानकारी गराए ।