आरती स्ट्रीप्सले टिएमटी छड उत्पादन गर्ने तयारी थाल्यो

  • चिरफार डटकम, विराटनगर ५६५  पटक हेरिएको

शनिबार, कार्तिक ०८, २०८२ समय : १५:३६:०२ , ४ दिन अगाडि

नेपालमा उद्योग सञ्चालन गरिरहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. ले टिएमटी छड उत्पादन गर्ने तयारी सुरु गरेको छ । मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकामा सन् २००१ मा स्थापना भएको उद्योगले सन् २००२ देखि उत्पादन सुरु गरेको हो ।

७ सय करोड रुपैयाँको लागतमा स्थापना भएको उद्योगले सादा तथा रंगिन जस्तापाता, कर्कट पाता र जीआई पाइप उत्पादन गरेर बिक्री गरिरहेको छ । कम्पनीले उत्पादन गरिरहेको सामग्री नेपाल र भारतीय बजारमा बिक्री गरिरहेका छन् ।

कम्पनीले सादा तथा रंगिन जस्तापाता तथा कर्कट पाता सँगै नयाँ उत्पादन आरती टिएमटी छड उत्पादन गर्ने तयारी सुरु गरेको छ । आरती स्ट्रीप्स प्रा.लि. फिर्ता जाने भन्दा पनि नयाँ जोस र जागरका साथ प्रस्तुत हुनेवाला छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा १८ सय ५० करोड रुपैयाँ बराबरको उत्पादित सामग्री बिक्री गरेको थियो । जसमध्ये ९ सय ९० करोड रुपैयाँ बराबरको सामान भारत तर्फ निकासी गरेका थिए । ८ सय ४७ करोड रुपैयाँ बराबरको सामान कम्पनीले नेपालमै बिक्री गरेको थियो ।

जसमध्ये १ सय १० करोड रुपैयाँ भ्याट कर कलेक्सन भएको थियो । प्रत्येक वर्ष ५० करोड रुपैयाँ बिजुलीको बिल तिर्ने उद्योगले ११ सय कर्मचारीलाई रोजगारी उपलब्ध गराएको उपमहाप्रबन्धक जीवन तिम्सिनाले बताए।