- ब्रह्मदेव यादव, विराटनगर ६४५ पटक हेरिएको
आइतबार, कार्तिक ०९, २०८२ समय : १४:१४:२१ , ३ दिन अगाडि
विराटनगरका संजित भगतले साफटा सुविधाको नाममा मोटो रकम सरकारी राजश्व चुहावट गरिरहेको रहस्य बाहिरिएको छ ।
विराटनगर भन्सार कार्यालयमा कुनै एक जना भन्सार एजेन्टलाई काम बापतको निश्चित मोटो रकम दिएर सामान आयातको प्रज्ञापन पत्रमा हस्ताक्षर गर्न लगाएर बाँकी जाँच पासको सम्पूर्ण प्रक्रियामा आफै सहभागिता जनाएर भगतले साफटा सुविधाको नाममा अवैध कारोबार गरिरहेको भन्सार कार्यालय निकट समाचार सूत्रले जानकारी गराएको छ ।
भगतले साफटा सुविधाको नाममा भारतबाट नेपालमा आयात गरिरहेको कपडामा मोटो रकम बराबरको भन्सार राजश्व चुहावट गरिरहेका छन् । भगतले भारतबाट महँगो र सस्तो दुवै प्रकारको कपडा साफटा सुविधाकै नाममा नेपाल भित्र्याउँछन् । र नेपाल अधिराज्य भरी ती कपडा बिक्री गरिरहेका छन् ।
केही वर्ष अगाडीसम्म अर्काको कपडा मात्रै भित्र्याउने भगतले पछिल्लो समय आफ्नै फर्मबाट कपडा भित्र्याएर बिक्री गरिरहेका छन् । भगतले विराटनगर–११ स्थित नयाँ गुद्री बजार नजिक आफ्नै घरमा स्वतिका ट्रेड एण्ड सप्लायर्स र सोहम ट्रेडर्सको नामबाट कपडा बिक्री गरिरहेका छन् ।
भगतले महँगो कपडा सस्तो भन्सार राजश्व तिरेर भित्र्याएर बजारको चलनचल्तीको मूल्य भन्दा ५ देखि १० प्रतिशत सस्तो मूल्यमा बिक्री गरिरहेकोले अन्य कपडा कारोबारी मार्कामा परेका छन् र ती कपडा कारोबारीको कारोबार ठप्प रहेका छन् ।
भगतले नेपाल र भारत बिच भएको साफटा सुविधाको मापदण्ड विपरीत भारतबाट नेपालमा कपडा भित्र्याइ रहेका छन् । भारत र नेपाल बिच भएको साफटा सुविधा सहमति अनुसार ८५ प्रतिशत कटनको कपडामा साफटा सुविधाको प्रावधान छ । त्यो भन्दा कम प्रतिशतको कपडामा साफटा सुविधाको व्यवस्था छैन ।
त्यसका लागि ल्याब रिपोर्ट सहित ओर्जिनल कागजातको आधारमा भन्सार कार्यालयबाट कपडा जाँच पासको प्रावधान छ । तर भगतले ल्याब रिपोर्ट नै तयार नगरीकन कृतिम कागजात तयार पारेर जस्तो सुकै प्रकारको महँगो भन्सार मूल्य रहेको कपडालाई साफटा सुविधाकै नाममा जाँच पास गराएर नेपाल भित्र्याइ रहेका छन् ।
जसको कारण नेपाल सरकारको मोटो रकम भन्सार राजश्व चुहावट भइरहेको रहस्य समेत बाहिरिएको छ । भारतबाट नेपालमा कपडा आयात गर्दा १५ प्रतिशत भन्सार राजश्व र १३ प्रतिशत भ्याट कर लाग्ने प्रावधान छ । साफटा सुविधाको प्रयोग गर्ने कारोबारीले ५ प्रतिशत मात्रै भन्सार राजश्व र १३ प्रतिशत भ्याट कर तिर्नुपर्ने प्रावधान छ ।
साफटा सुविधाको प्रयोग कर्ता कारोबारीले १० प्रतिशत भन्सार राजश्व छुटको फाइदा उठाउँछ । त्यसमा पनि जस्तो सुकै महँगो ब्राण्डको सटिङसुटिङको कपडालाई कटन कपडा भन्दै साफटा सुविधाको नाममा ५ प्रतिशत भन्सार राजश्व तिरेर आयात गर्दा सरकारी राजश्वको अपचलन भइरहेको छ । र राज्य पक्ष यसमा उदासीन छ ।
भगत छोटो समयमा मोटो रकम राजश्व चुहावट गरेर आफ्नो व्यक्तिगत सम्पत्ति १० गुणाले बढाएका छन् । यस तर्फ राज्य पक्षको ध्यान जान जरुरी छ । कपडा कारोबारी भगतले नेपाल र भारत बिच भएको साफटा सुविधाको सहमति अनुसार आफूले सुविधाको सदुपयोग गरिरहेको बताए ।