पराजुली २८औं पटक अस्ताउँदो सूर्यलाई अर्घदिन सिंघियाघाट प्रस्थान

  • चिरफार डटकम, विराटनगर ५१०  पटक हेरिएको

सोमबार, कार्तिक १०, २०८२ समय : १३:२२:०० , २ दिन अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली २८औं पटक अस्ताउँदो सूर्यलाई अर्घदिन विराटनगरको सिंघियाघाट प्रस्थान गरेका छन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले सबै धर्मानुयायीहरुलाई सिंघियाघाटमा उपस्थित हुन आग्रह गरेका छन् ।

नेपालीहरूको महान चार्ड छठ पर्वको अवसरमा सोमबार अस्ताउँदो सूर्यलाई अर्घदिन पराजुली विराटनगर–१ परोपकारधाम स्थित सिंघियाघाट प्रस्थान गरेका हुन् । सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई अर्घदिएपछि छठ पर्वको समापन हुन्छ ।

सोमबार बिहान १० बजे विराटनगरको पोखरीया स्थित ठुलो मिल नजिक रहेको शिव पञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै पराजुली सिंघियाघाट प्रस्थान गरेका हुन् ।

पराजुली निराहार ब्रत बसेर २८ वर्षदेखि छठ पर्व गरिरहेका छन् । पराजुलीले प्रत्येक वर्ष ७ घण्टा भन्दा बढी समय लगाएर करिब ३ किलोमिटर क्षेत्रमा दण्डप्रणाम गर्दै सिंघियाघाट पुग्ने गरेका छन् ।

पराजुलीले यस वर्ष बौद्ध, किराँत सहित हिन्दु राष्ट्र, लोककल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्मरक्षाका लागि कामना गर्दै छठ पर्वको ब्रत बसेका छन्  ।