विश्व प्रसिद्ध प्रेरणादायीवक्ता ब्रह्माकुमारी सिस्टर बिके शिवानी पहिलो पटक विराटनगर आउँदै

  • ब्रह्मदेव यादव, विराटनगर ६५९  पटक हेरिएको

मंगलबार, कार्तिक ११, २०८२ समय : १६:३७:५२ , १ दिन अगाडि

विश्व प्रसिद्ध प्रेरणादायीवक्ता ब्रह्माकुमारी सिस्टर बिके शिवानी पहिलो पटक विराटनगर आउन लाग्नु भएको छ । ब्रह्माकुमारी सिस्टर बिके शिवानी विश्व प्रसिद्ध प्रेरणादायीवक्ता र सकारात्मक सन्देश प्रवाह गर्ने चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनको वर्षभरी नै विश्वको हरेक सहरमा सकारात्मक सन्देश प्रवाह गर्ने गरी प्रवचन कार्यक्रम भइरहन्छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरेर सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रम बारे जानकारी गराएका छन् । कात्तिक १४ गते  शुक्रबार सिस्टर बिके शिवानी विराटनगरको जैन भवनमा सकारात्मक सोचाइको बारेमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

जम्मा २ घण्टा ३० मिनेटसम्म चल्ने प्रवचन कार्यक्रममा २ हजार ५ सय जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ । शुक्रबार ४ः३० बजेदेखि सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रम सुरु हुने छ । विराटनगरको निजी क्षेत्रले सिस्टर बिके शिवानीबाट हुन लागेको प्रवचन कार्यक्रमको संयोजन गरेका छन् ।

मोरङ उद्योग व्यापार संघ विराटनगर, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी विराटनगर र नेपाल उद्योग वाणिज्य महासंघ कोशी विराटनगरले सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहकार्य गर्न लागेका छन् । निजी क्षेत्रको तर्फबाट उद्योगी महेश जाजुलाई कार्यक्रमको संयोजकको जिम्मेवारी दिइएको छ ।

चिरफार डटकम सँग कुरा गर्दै उद्योगी जाजुले नकारात्मक सोचाइलाई अन्त गरेर सकारात्मक सोचाई तर्फ अगाडी बढ्न सिस्टर बिके शिवानीको कार्यक्रम फलदायी हुने धारणा व्यक्त गरे ।