विराटनगरमा बिके शिवानी दिदीको कार्यक्रम, हजारौँको सहभागिता

  • ब्रह्ममदेव यादव, विराटनगर ९२२  पटक हेरिएको

शुक्रबार, कार्तिक १४, २०८२ समय : २०:०२:२० , ४ महिना अगाडि

शुक्रबार साँझ विराटनगरमा विश्व प्रसिद्ध प्रेरणादायीवक्ता बिके शिवानी दिदीको कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको निजी क्षेत्रले संयोजन गरेको बिके शिवानी दिदीको प्रेरणादायी कार्यक्रममा समाजका हरेक क्षेत्र तह र तप्काका हजारौँ विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवन सारडा र कार्यक्रम संयोजक उद्योगी महेश जाजुले कार्यक्रममा बिके शिवानी दिदीलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले विराटनगर स्थित जैन भवनको प्राङ्गणमा कार्यक्रम आयोजनाको तयारी गरेका थिए । विराटनगरको निजी क्षेत्रले प्रतिकुल मौसमलाई ध्यानमा राखेर डुम प्रविधि मार्फत त्रिपाल जडान गरेर कार्यक्रमको तयारी पुरा गरेका थिए । तर बिहीबार रातीदेखि निरन्तर परेको वर्षाका कारण जैन भवनको प्राङ्गणमा कार्यक्रम हुने स्थित रहेन र विराटनगरको होटेल मनासलु इनमा कार्यक्रम आयोजना गरिएको थियो ।

होटेल मनासलु इनमा आयोजना गरिएको कार्यक्रममा हजारौँ विराटनगरवासीको सहभागिता रहेको थियो । प्रतिकुल मौसमको कारण निर्धारित समय भन्दा २ घण्टा ढिलो ६ बजेदेखि सुरु भएको कार्यक्रम राती ८ बजेसम्म चलेको थियो ।

विश्व प्रसिद्ध प्रेरणादायीवक्ता बिके शिवानी दिदीले सफल र योग नागरिक बन्नका लागि सकारात्मक सोचाइका साथ अगाडी बढ्न सहभागीलाई सुझाव दिएका थिए ।