- ब्रह्मदेव यादव, विराटनगर ५८५ पटक हेरिएको
सोमबार, कार्तिक १७, २०८२ समय : १६:१४:३६ , ३ महिना अगाडि
विराटनगर स्थित सरकारी स्वामित्वको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले बिबिए तर्फको रिजल्टमा हेरफेर गरेको छ ।क्याम्पसले चार बर्षे बिबिए अध्ययनका लागि शैक्षिक सत्र २०८२/०८३ को लागि लिएको प्रवेश परीक्षाको रिजल्टमा हेरफेर गरेको हो ।
क्याम्पसले १२ घण्टा भित्रमा रिजल्ट हेरफेर गरिदिँदा बिबिए अध्ययनका लागि आइतबार पास भएका ६ जना विद्यार्थी फेल भएका छन् । भने फेल भएका ६ जना विद्यार्थी पास भएका छन् ।
क्याम्पसका उपप्राध्यापक सीताराम चौलागाई र प्राविधिक तर्फका शिक्षण सहायक केशव भण्डारीको चरम लापरबाही र गैर जिम्मेवारीका कारण पास भएको विद्यार्थी बिबिए पढ्नबाट वञ्चित भएका छन् ।
आइतबार बिबिए अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका विराटनगरका यदिति कर्ण सोमबार फेल भएका छन् । अदिति कर्ण मकालु टेलिभिजनका वरिष्ठ संवादाता पत्रकार नविन कर्णका छोरी हुन् ।
सोमबार छोरीको भर्नाका लागि बैंकमा रकम जम्मा गर्न भौचर भरिरहेका पत्रकार कर्णलाई छोरी यदिति कर्ण फेल भएकोले भर्ना हुन नसक्ने क्याम्पस प्रशासनले जानकारी गराएको थियो ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले बिबिए अध्ययनका लागि शैक्षिक सत्र २०८२/०८३ मा ९९ सय जना विद्यार्थी भर्ना लिने तयारी गरेको छ । र प्रवेश परीक्षा मार्फत ९९ सय विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
क्याम्पसका बिबिए तर्फका निर्देशक मोहनकुमार श्रेष्ठले प्राविधिक त्रुटिका कारण पास भएका विद्यार्थी फेल र फेल भएका विद्यार्थी पास भएको जानकारी गराए ।
सरकारी स्वामित्वको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ४ वर्षे बिबिए अध्ययनका लागि साढे ३ लाख रुपैयाँ शुल्क लाग्छ । तर निजी क्याम्पसमा बिबिए अध्ययनका लागि ७ देखि ८ लाख रुपैयाँसम्म शुल्क लाग्छ ।