- ब्रह्मदेव यादव, विराटनगर ३१४ पटक हेरिएको
आइतबार, कार्तिक २३, २०८२ समय : १६:५८:०६ , ४ घन्टा अगाडि
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विराटनगरमा सञ्चालनमा रहेको मसाज सेन्टरमा भइरहेको अवैध गतिविधिबारे सूचना प्राप्त भएको जानकारी सार्वजनिक गरेका छन् । कार्तिक १६ गतेदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका कट्टेलले पत्रकारसँग कुरा गर्दै विराटनगरमा सञ्चालनमा रहेका मसाज सेन्टर भित्र हुने गरेको अवैध गतिविधिबारे सूचना प्राप्त भएको जानकारी गराए ।
मसाज सेन्टर मात्रै नभई होटेल, रेष्टुरेन्ट, गीत गजलमा हुने गरेको गतिविधिबारे आफू जानकार रहेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए । विराटनगरमा सञ्चालनमा रहेको क्यासिनो भित्र भइरहेको गतिविधि बारे पनि आफू जानकार रहेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।
चाडै नै कार्यालयका जिम्मेवार अधिकृतको नेतृत्वमा अनुगमन टोली गठन गरेर मसाज सेन्टरदेखि क्यासिनो, होटेल, रेष्टुरेन्ट र गीत गजलमा भइरहेको उच्श्रृखल तथा अवैध गतिविधिको अनुगमन गर्न लागेको जानकारी गराए । मसाज सेन्टरमा मसाजको नाममा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आएको छ । त्यसलाई नियन्त्रण र नियगमन गर्छु ।
मापदण्ड विपरीत सञ्चालित गीत गजल भित्र भइरहेको उच्श्रृखल क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउँछु । सबै मिलेर कानुनको पालना गर्ने हो । कानुन उलंघन गर्ने जोकोहीलाई कारबाही गर्छु– प्रजिअ कट्टेलको भनाइ छ । विराटनगर महानगरपालिका क्षेत्र भित्र ३ दर्जनको हाराहारीमा मसाज सेन्टर सञ्चालनमा रहेका छन् । त्यसमा पनि नेपाल भारत सीमान्त क्षेत्र जोगबनी बोडरको १ किलोमिटर नजिकको नेपाल तर्फको क्षेत्रमा १ दर्जन भन्दा बढी मसाज सेन्टर सञ्चालनमा रहेका छन् ।
सिङ्गै घर भाडामा लिएर सञ्चालन गरिएको मसाज सेन्टर भित्रको क्याबिन कोठामा मसाजको नाममा यौनजन्य क्रियाकलाप भइरहेको छ । यस्तो सेवा लिन आउने ग्राहकमा अधिकांश भारतीय नागरिक रहेका छन् । मसाज सेन्टरका सञ्चालकहरू नेपाली रुपैयाँ नभई भारतीय रुपैयाँमा मसाज सेवा उपलब्ध गराइ रहेका छन् । यही सेवालाई पारदर्शी र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी कट्टेलले अनुगमन गर्न लागेका हुन् ।